सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउँदो भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ले यतिबेला डिजिटल प्लेटफर्ममा कब्जा जमाएको छ। रिलिज भएको जम्मा ४ दिनमै युट्युबमा १३ लाखभन्दा बढी भ्युज बटुलेको यस गीतमाथि टिकटकमा मात्रै २ लाख ५० हजार भन्दा धेरै भिडियो बनिसकेका छन्। फेसबुक र इन्स्टाग्रामका रीलहरूमा पनि यतिबेला यही गीत भाइरल छ।
छोटो समयमै गीतले यति ठूलो सफलता हात पार्नु पछाडि यसको लोक फ्लेभर र सुमधुर सङ्गीत मुख्य कारण हो। सङ्गीतकार अर्जुन पोखरेलले तयार पारेको क्याची धुन एकपटक सुनेपछि जोकोहीको मुखमा सहजै झुण्डिन्छ। त्यसमाथि अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओड जस्ता चर्चित गायक-गायिकाको संयुक्त स्वरले गीतमा बेग्लै ऊर्जा भरेको छ। भर्सटाइल गायन शैली र बलियो फ्यान फलोइङको फाइदा पनि गीतले मज्जाले उठाएको छ।
गीतको भिडियोमा टिकटक स्टारका रूपमा उदाएका पारस बम ठकुरी (कुल ब्वाइ), अभिनेत्री दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङले कम्मर मर्काएका छन्। विशेषगरी पारस र दिव्याको अनस्क्रिन केमेस्ट्री र उनीहरूको क्रेजले युवापुस्तालाई आकर्षित गरेको छ। सियोन श्रेष्ठले तयार पारेको डान्सको ‘हुक स्टेप’ नाच्न निकै सजिलो र रमाइलो भएका कारण सर्वसाधारणदेखि सेलिब्रेटीसम्मलाई टिकटक बनाउने हुटहुटी चलेको हो। यही सोसल मिडिया च्यालेन्ज नै गीत भाइरल हुने प्रमुख कडी बनेको छ।
फर्स्टलुक पोस्टर र नामबाटै राम्रो चासो जगाएको ‘बेहुली’लाई यो गीतको ट्रेन्डले थप हाइप दिएको छ। सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा भिडियोमा देखिएका चार कलाकारका अलावा सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरको अभिनय छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको यस प्रोजेक्टमा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। त्यसैगरी, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्। गीतले बजार तताइसकेपछि अब दर्शकको पर्खाइ भदौ २६ गते हलमा लाग्ने चलचित्रतिर मोडिएको छ।





प्रतिक्रिया