सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य र अभिनय यात्राका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको सम्मान राजधानीमा आयोजित एक समारोहबीच प्रदान गरिएको छ।

अघिल्लो वर्षदेखि सुरु गरिएको उक्त सम्मान गुरु पूर्णिमाको अवसर पारेर बुधबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा प्रदान गरिएको हो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुप्रशिद्ध हास्य कलाकार एवं निर्देशक सन्तोष पन्तलाई हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान २०८३ प्रदान गरिएको छ। त्यसैगरी सुप्रशिद्ध गायक तथा संगीतकार डा. किरण प्रधानलाई गोपाल योञ्जन संगीत साधना सम्मान २०८३ बाट सम्मान गरिएको छ।
विभिन्न सांगीतिक तथा नृत्यात्मक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा सुप्रशिद्ध नृत्यांगना विमल श्रेष्ठ क्षेत्रीलाई राजपाल थापा नृत्य साधना सम्मान २०८३ प्रदान गरिएको छ। सुप्रशिद्ध साहित्यकार तथा गीतकार उपरथी राजेन्द्र थापालाई चेतन कार्की गीति वाङ्मय साधना सम्मान २०८३ प्रदान गरिएको छ। त्यसैगरी सुप्रशिद्ध अभिनेता तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई नेपाल पूर्व प्रहरी कला साधना सम्मान २०८३ प्रदान गरिएको छ। यो सम्मान पहिलोपटक प्रदान गरिएको हो।

कार्यक्रमको भावुक र रोचक पक्ष सम्मानित व्यक्तित्वहरूको संक्षिप्त जीवनयात्रा र कलात्मक योगदान समेटेर तयार गरिएको भिडियो प्रस्तुति रह्यो। भिडियोमार्फत उनीहरूका जीवनसाथीको परिचय गराउँदै सफल यात्रामा दिएको साथ र सहयोगप्रति आभार व्यक्त गरिएको थियो। सम्मान प्रदान गर्दा सम्मानित व्यक्तित्वका जीवनसाथीलाई समेत मञ्चमा आमन्त्रण गरी सँगै सम्मान गरिएको थियो। कलाकर्मीहरूलाई प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, अन्य पूर्व प्रहरी महानिरीक्षकहरू तथा सम्बन्धित विधाका वरिष्ठ कलाकर्मीहरूले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए। कार्यक्रममा कला, संस्कृति तथा संघको गतिविधिमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।

नेपाल पूर्व प्रहरी कलाकार संघकी वरिष्ठ सल्लाहकारसमेत रहेकी मिथिला शर्माले आफ्ना गुरुहरूको स्मृति र योगदानलाई सधैं जीवित राख्ने उद्देश्यले उनीहरूको नाममा सम्मान स्थापना गरेको बताइन्। उनले भनिन्, ‘गुरुहरू चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको गर्विलो इतिहास जीवित राख्ने उद्देश्यले गुरुदक्षिणास्वरूप यो सम्मानको सुरुआत गरेकी हुँ। विगतले अंश माग्दैन। आमा, बुवा र गुरुको ऋण कहिल्यै तिर्न पनि सकिँदैन। तर पनि उहाँहरूको नाममा सम्मान अर्पण गर्न पाउँदा गुरुहरूबाट आशीर्वाद पाएजस्तो लाग्छ।’


कार्यक्रममा संघका संस्थापक छत्रबहादुर गुरुङले नाचगानमा मात्र सीमित नभई नेपालको कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि पनि यस्ता कार्यक्रम आयोजना गरिँदै आएको बताए। त्यसैगरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यस्ता कार्यक्रमले सेवाबाट अवकाश प्राप्त प्रहरी कर्मचारीलाई समेत प्रहरी परिवारसँग जोडिराख्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।

कार्यक्रममा पूर्व तथा वर्तमान नेपाल प्रहरीसँग आबद्ध कलाकारहरूले विभिन्न विधाका गीत, संगीत र नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। संघकी वरिष्ठ सल्लाहकार तथा ख्यातिप्राप्त अभिनेत्री मिथिला शर्माले पनि सरप्राइज प्रस्तुतीका रूपमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com