सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्माता सुशील पोखरेल अब निर्देशकको रूपमा डेब्यु गर्ने भएका छन्। हरि ओम सिनेमाज प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘प्रतिज्ञा’ मार्फत उनी निर्देशनमा आउन लागेका हुन् ।
सामाजिक सञ्जालमार्फत बिहीबार चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्रको औपचारिक घोषणा गरेका छन् ।
२०५४ सालदेखि चलचित्र निर्माणमा सक्रिय पोखरेलले यसअघि सिनेमा ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’ र ‘परालको आगो’मा लगानी गरिसेका छन्। विशेषगरी उनको सफल चलचित्रमा प्रमाण ‘जय शिव शंकर’, ‘जीवनदाता’ र ‘मैदान’जस्ता पर्दछन् ।
सात वर्षको अन्तरालपछि ‘परालको आगो’ मार्फत गतवर्ष निर्मातामा कमब्याक गरेका पोखरेल यसवर्ष भने निर्देशनमा पाइला चाल्दैछन् । तीन दशक लामो निर्माण अनुभवलाई निर्देशनमा खर्चिने र दर्शकलाई एउटा उत्कृष्ट कथा पस्किन लागेको उनले बताए ।

‘नेपाली चलचित्रमा मेरो तीन दशक लामो निर्माण अनुभवलाई ‘प्रतिज्ञा’मार्फत निर्देशनमा प्रस्तुत गर्दैछु । एउटा उत्कृष्ट कथावस्तु पाएकोले निर्देशनमा हाल हालेको हुँ,’ उनले भने, ‘कथावस्तुले नै आकर्षित गरेर निर्देशन यात्रामा पाइला चाल्नु उपयुक्त लागेर याे कदम चाल्न लागेको हुँ ।’
चलचित्र हरि ओम सिनेमाज प्रा.लि. को ब्यानरमा निर्माण हुन लागेको हो । सार्वजनिक पोस्टरमा भगवान् शिवको विशाल स्वरूप, त्रिशूल देखिन्छ । साथै पोस्टरमा ‘जब प्रणाली न्याय दिन असफल हुन्छ, तब एउटा प्रतिज्ञा नै न्याय बन्छ,’ भन्ने ट्यागलाइन राखिएको छ । जसले चलचित्र न्याय, संघर्ष र एउटा दृढ संकल्पको कथामा आधारित रहेको संकेत दिएकाे छ ।
फ्यामिली थ्रिलर जनरामा बन्ने चलचित्रको छायांकन आगामी तिहारको छेकोमा छायांकन गर्ने तयारी भइरहेको डेब्यु निर्देशक पोखरेलले बताए । उनका अनुसार अहिले सिनेमाको प्रि-प्रोडक्सन कार्य भइरहेको छ । सम्भवतः नयाँ वर्ष २०८४ मा प्रदर्शन गर्ने टिमको तयारी छ । त्यस्तै, निर्माण टिमले चलचित्रको कलाकार तथा प्राविधिक टोलीबारे थप विवरण केही दिनमा सार्वजनिक गर्ने तयारी गरेको जनाएकाे छ ।






प्रतिक्रिया