सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रको शीर्ष गीत सार्वजनिक गरेको हो ।गीतमा सञ्जीव थापाको शब्द, हरि लम्सालको संगीत र स्वर छ । ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतले आफ्नो धरातल नबिर्सन आग्रह छ ।

रुख र जराको नाता तथा माटो र पानीको साथ टुट्यो भने त्यसको अस्तित्व नरहने सन्देश दिने गीतले आफ्नो जन्म दिने बुवाआमा र जन्मिएको माटो नविर्सन अपिल गर्छ ।

जति सुकै ठूलो सफलता हात पारे पनि आफ्नो विगत भूल्ने हो पहिचान नै नरहने भन्दै गीतले आफ्ना, आफन्त र आफ्नो भूमि नै सबैभन्दा माथि हुने प्रस्ट पारेको छ । गीतको ओजपूर्ण शब्द र मर्मस्पर्शी भावले सिनेमाले भन्ने खोजको कथा र दिन खोजेको सन्देशको सार संक्षेप बताउँछ । जन्मदिने बुवाआम र जन्मिएको घरलाई माया नमार भन्ने सन्देश सिनेमाले दिने शीर्ष गीत सुनेर आंकलन गर्न सकिन्छ ।

गीतमा चलचित्रका मुख्य पात्रत्रय दिव्यदेव, सुहाना थापा र झरना थापासहित अन्य कलाकारलाई देख्न सकिन्छ । बच्चा हुर्काउँदादेखि उनीहरू पराई घर र पराई भूमिमा जाँदासम्मको समय र एक्लो भएको बुवाको पीडासम्म गीतको भिडियोमा समेटिएको छ । भिडियोमा सिनेमा फुटेजहरू खेलाइएको छ ।

चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ ।

यो चलचित्रमा दिव्यदेव, झरना र सुहानासँगै माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो । नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह-निर्माता कृष्ण काफ्ले रहेका छन् ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com