सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री तथा निर्देशक झरना थापाले चलचित्र ‘ए मेरो हजुर ५’ को छायांकन सुरु गर्न लागेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै उनले यही साउन २९ देखि चलचित्रको छायांकन सुरु गरिने जानकारी दिएकी हुन् । चलचित्र सञ्जय लामाले खिच्नेछन् ।

चलचित्रको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट सुरु गर्न लागेको उनले बताएकी छन् । बडीमालिकाको चर्चा गर्दै उनले लेखेकी छन्, ‘नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ चलचित्र ए मेरो हजुर ५ को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ ।’

निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरबाट चलचित्रको यात्रा सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरेकी छन् । उनले बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि भएको बताएकी छन्। उनले लेखेकी छन्, ‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो।’

साथै प्रधानमन्त्री बालेन्द्र शाहले समेत बडीमालिकालाई सुदूरपश्चिमको गौरव र नेपालको पर्यटन विकासको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यसको प्रचार-प्रसारमा विशेष जोड दिएको प्रसंग पनि स्मरण गरेकी छन् ।

उनले नेपाली प्रकृति, संस्कृति र भावनालाई अझ व्यापक रूपमा दर्शकमाझ पुर्‍याउने उद्देश्यले ‘ए मेरो हजुर ५’ बनाउन लागेको खुलासा पनि गरेकी छन् । सिनेमाले नेपालीपनलाई सिनेमामा नयाँ ढंगले प्रस्तुत गर्ने उनले विश्वास व्यक्त गरेकी छन् ।

चलचित्र झरनाकाे निर्देशनमा बन्नेछ । चलचित्रमा कलाकारको रूपमा अभिनेत्री सुहाना थापा र अभिनेता अनमोल केसी मुख्य भूमिकाका जोडिएका छन् । यसबाहेक अन्य कलाकार गोप्य राखिएको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने सिनेमाका निर्माता सुनिलकुमार थापा हुन् ।

चलचित्रमा अभिनेत्री सुहाना र अभिनेता अनमोलले तेस्रो पटक सहकार्य गर्दैछन् । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए । उनीहरूको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।

‘ए मेरो हजुर’ शृंखलाका अघिल्ला चारै संस्करण बक्स अफिसमा सुपरहिट बनेको थियो । स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’ को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन थालेकी हुन् ।

स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको ‘ए मेरो हजुर’ पछि यसको दोस्रो शृंखलाबाट झरना थापाले निर्देशनको जिम्मेवारी सम्हालेकी हुन् । त्यसयता ‘ए मेरो हजुर’ शृंखलाका बाँकी संस्करण झरनाले नै निर्देशन गर्दै आएकी छन्।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com