सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँ नेपाली चलचित्र ‘पच्चीस पच्चीस’ को आधिकारिक निर्माण घोषणा गरिएको छ। दरबारमार्गस्थित कासा लाउन्ज बारमा सोमबार आयोजित एक विशेष समारोहका बीच कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको शीर्षकसँगै निर्माण टोली र मुख्य कलाकारहरूको समेत औपचारिक परिचयात्मक घोषणा गरिएको हो।

चलचित्रलाई रंगपत्रकारिता तथा निर्देशनमा लामो अनुभव सँगालेका परिपक्व निर्देशक सुब्रत आचार्यले निर्देशन गर्दैछन्। विगतमा ‘अधकट्टी’, ‘सुश्री सम्पत्ती’ जस्ता चलचित्र र थुप्रै म्युजिक भिडियोहरू निर्देशन गरिसकेका आचार्यको यो तेस्रो चलचित्र हो।

चलचित्रका निर्माता कर्ण कार्की हुन्, जो व्यवसायिक वृत्तमा एक स्थापित र विविधीकृत लगानीकर्ताका रूपमा चिनिन्छन्। बैंक, क्याफे, सलुन, तथा एक्स्पोर्ट/इम्पोर्ट जस्ता विभिन्न व्यापारिक क्षेत्रमा लगानी फैलाएका कार्कीले गत वर्ष ‘होस्टेल ३’ मार्फत चलचित्र निर्माणमा पाइला चालेका थिए। यो उनको चलचित्र यात्राको दोस्रो महत्वाकांक्षी प्रोजेक्ट हो।

चलचित्रको सह-निर्मातामा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण रहेका छन् भने कार्यकारी निर्माताको जिम्मेवारी दीपेन्द्र गौतम ‘माइकल’ले सम्हालेका छन्। लाइन प्रोड्युसरका रूपमा प्रकाश कँडेल र मनिषा राउत छन्।

चलचित्रमा अबिषेक खड्का र खुसी कार्कीको मुख्य अभिनय रहनेछ। साथमा नेपाली सिनेमा क्षेत्रका प्रखर एवं भर्सटायल अभिनेता प्रमोद अग्रहरी मुख्य भूमिकामा देखिनेछन्। यस चलचित्रको अर्को ठूलो आकर्षण सामाजिक सञ्जालमा अत्यन्तै लोकप्रिय दार्जिलिङ (भारत)का चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर भक्ते भाइको नामले परिचित अमित सुब्बाको डेब्यु रहनु हो। ‘द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत रैथाने र हँसाउने ठेट शैलीका भिडियो बनाएर नेपाल, दार्जिलिङ र सिक्किम क्षेत्रका लाखौँ दर्शकको मन जितेका अमितलाई यसै चलचित्रमार्फत नेपाली रजतपटमा भित्र्याइँदैछ।

चलचित्रको कथा सुब्रत आचार्य र जयाको रहेको छ भने पटकथा लेखन सुशील देवकोटाले गरेका हुन्। हरि हुमागाईंले यस चलचित्रको छायांकन निर्देशन गर्दैछन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहनेछ।

छिट्टै नै छायांकनमा जाने तयारीमा रहेको यस चलचित्रले भरपुर मनोरञ्जनका साथै एउटा उत्कृष्ट सामाजिक-कमेडी कथा पस्कने दाबी निर्माण पक्षले गरेको छ। निर्देशक आचार्यले यो चलचित्र नेपाली माटो सुहाउदो हुने बताए। कलाकारहरू पनि यो चलचित्रलाई लिएर उत्साहित देखिए।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com