सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्र ‘मास्टर्नी’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका छन् ।
आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागी आमाले के गर्न सक्छिन् भन्ने पोस्टर र टिजरको भावलाई चलचित्रको ट्रेलरले झन् प्रस्ट्याएको छ । क्राइम थ्रिलर/फ्यामेली ड्रमा जनरामा निर्मित चलचित्रको ट्रेलरमा प्रमुख कलाकारलाई स्थान दिइएको छ ।
प्रियंका कार्की जोशी, सिम्रन खड्का, दिपकराज गिरी, दिपाश्री निरौला, सन्दिप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा लगायतका कलाकार टिजरमा प्रस्तुत भएका छन् ।
सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार चलचित्रको कार्यकारी निर्माता हुन् । भारतीय प्राविधिक टिमले काम गरेको चलचित्रको पोस्ट प्रोडक्सनको काम नेपाल र भारत दुवै स्थानमा भइरहेको छ ।
चलचित्रको कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन् । संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य छ । युवराज इन्दोरियाको छायाङ्कन तथा राजा सिंह सिदुको सम्पादन रहेको छ । राजेन्द्र मोक्तानको कलर रहेको टिजरको ध्वनि मिश्रण मुकेश शाहले गरेका छन् ।
चलचित्रमा रोहित शाक्यको सङ्गीत, त्रिशाला गुरुङको गायन रहेको छ । चलचित्रको पोस्टर डिजाइन तथा पब्लिसिटी पार्टनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) रहेको छ ।
चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ । चलचित्र आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।










प्रतिक्रिया