सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘भिडियोटेप’ को आज एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको छ ।ललितपुरको लाबिम मलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ओविद उद्दिनको निर्देशनमा तयार हुन लागेको चलचित्रको घोषणा गरिएको हो ।

हरर जनराको चलचित्रलाई भदौ ५ गतेबाट उपल्लो मुस्ताङमा खिचिनेछ । ३० दिनसम्म चलचित्रको छायांकन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
चलचित्रमा नायिका उपासना सिंह ठकुरीको साथमा नायक कुन्दन मान शाक्यको मुख्य भूमिका रहनेछ । चलचित्रमा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंह लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ ।

चलचित्रमा वशिष्ट प्रधानको डीओपी रहनेछ । चलचित्रका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे हुन् ।
कार्यक्रममा बोल्दै निर्देशक ओविदले भने–‘म सानैदेखि हरर जनराका चलचित्र हेरेर हुर्किएको हुँ । यसैले, आफ्नो डेब्यू चलचित्रमा पनि यही जनरालाई अगाडि बढाएको छु । यो कथा काल्पनिक बिषयमा आधारित छ । कुनै पनि वास्तविक घटनासँग मिल्दैन ।’
नायिका उपासना सिंह ठकुरीले चलचित्रका बिषयमा भनिन्–‘एक वर्ष अगाडिदेखि नै चलचित्रको बिषयमा कुराकानी भइरहेको थियो । कथावस्तु निकै नै राम्रो छ । अब हामी चलचित्रको छायांकनमा जाँदैछौं । एकदमै उत्साहित छु ।’

यस्तै, नव–नायक कुन्दनले चलचित्रलाई लिएर आफू निकै नै उत्साहित भएको बताए । चलचित्रलाई ४ करोडको बजेटमा निर्माण गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।
चलचित्रमा महेश बरालको मुख्य सहायक निर्देशन रहनेछ । कार्यक्रममा बोल्दै एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ दिन सबैसँग आग्रह गरेका थिए ।










प्रतिक्रिया