सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मास्टर्नी’ मार्फत आफूले नयाँ विधाको फिल्म दर्शकका लागि ल्याएको अभिनेत्री प्रियंका कार्कीले बताएकी छिन् । फिल्मको प्रचारप्रसारका क्रममा अभिनेत्री कार्कीले फिल्मले आमाको कथालाई प्रस्तुत गरेको बताइन । उनले फिल्म शिक्षा सम्बन्धी नभई विशुद्ध आमा र छोरीको कथामा तयार भएको प्रस्ट्याइन ।

उनले भनिन्,‘मैले क्राइम, थ्रिलर विधालाई दर्शक समक्ष ल्याएकी छु । फिल्ममा एउटी आमाले छोरीको रक्षाका लागि के सम्म गर्न सक्छिन् भन्ने देखाइएको छ । फिल्मको नाम र शिर्ष पात्र प्रस्तुत भएको आवरणले गर्दा दर्शकले फरक धारणा बनाउनु भयो, तर फिल्म भिन्न छ । फिल्मले भरपुर मनोरन्जन दिन्छ ।’

उनले आफूले अभिनेत्रीका रुपमा वर्षौंसम्म संगालेको अनुभवलाई समेटेर फिल्म निर्माण गरेको बताइन । फिल्मको सार्वजनिक ट्रेलर, टिजर तथा ‘गुराँस फुल्दा’ गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन्। प्रचारप्रसारमा व्यस्त ‘मास्टर्नी’को टिम दर्शकबाट प्राप्त प्रतिक्रियाले उत्साहित देखिएको छ। फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले एडल्ट सर्टिफिकेट दिएको छ। अब यो फिल्म १६ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउनेछन्।

आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्म क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा निर्माण गरिएको हो। फिल्ममा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापालगायतका कलाकारको अभिनय रहेको छ।

सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्मलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन्। सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेका छन्।

फिल्मको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य रहेको छ। युवराज इन्दोरियाको छायांकन तथा राजा सिंह सिदुको सम्पादन रहेको फिल्ममा रोहित शाक्यको संगीत र त्रिशाला गुरुङको गायन रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com