सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनेता अनमोल केसीसँग फिल्म ‘ड्रिम्स’ मार्फत आफ्नो अभिनय यात्राको सुरुआत गरेकी थिइन् । त्यसपछि फिल्मकर्मीको रोजाईमा पर्दै आएकी साम्राज्ञीको पछिल्लो समय अभिनय यात्रा ठीकठाक मात्र छ । उनले आफूलाई अर्बनसँगै गाउँले भूमिका समेत प्रस्तुत गरिसकेकी छिन्, यद्यपि केही बाहेक उनले अन्य पात्रलाई जीवन्त बनाउन नसकेको समीक्षा पाउने गरेकी छिन् ।
उनै साम्राज्ञीलाई लिएर घोषणा गरिएको फिल्म ‘एक्का मिस्सी बादशाह’ मा अनमोलको नाम पनि जोडिएको थियो । संजय राईको निर्देशनमा बन्ने फिल्ममा कार्यकारी निर्मात्री सुदीप्ता अधिकारीले अनमोललाई अभिनय गराउने प्रयास गरेकी थिइन् । निर्माण पक्षले अनमोलसम्म कुरा पनि पुर्याएको थियो, तर अनमोल विश्वकप हेर्न संयुक्तराज्य अमेरिका पुगेकाले राम्रोसँग कुराकानी हुन् नसकेको स्रोतको भनाइ छ ।
अनमोलसँग फिल्ममा सहकार्य गर्ने सम्भावना नदेखिएपछि निर्माण पक्षले फिल्मका दुई मुख्य पात्र कृष र अर्जुनका लागि अडिसन आह्वान गरेको छ । दर्शक अनमोल र साम्राज्ञीलाई पुनः पर्दामा हेर्न उत्सुक थिए, यद्यपि यो सहकार्य सम्भव भएन् । त्यसो त पछिल्लो समय साम्राज्ञी अभिनेता भुवन केसीसँग विवादमा आएकी थिइन् । यसले गर्दा पनि निर्माता तथा निर्देशकले अनमोल र साम्राज्ञीको जोडीलाई एकसाथ पर्दामा ल्याउन सकेका छैनन् ।










प्रतिक्रिया