सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को चार मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार सार्वजनिक गरेको ट्रेलरलाई दर्शकले सकरात्मक प्रतिक्रिया दिएका छन् । ओएसआरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीबीचको दिदी–भाइको आत्मीय सम्बन्धलाई प्रस्तुत गरिएको छ । अटिजम भएकी दिदी र उनको हेरचाह तथा मायामा केन्द्रित भाइको कारुणिक सम्बन्धले ट्रेलरलाई भावुक बनाएको छ ।
ट्रेलरमा अटिजम भएकी छोरीलाई बुबाले विद्यालय भर्ना गरेपछि उनले सामना गर्नुपर्ने सामाजिक व्यवहारलाई समेत देखाइएको छ । विद्यालयमा उनलाई जिस्क्याउने तथा दुर्व्यवहार गर्ने दृश्यसँगै त्यसपछि उत्पन्न हुने परिस्थितिलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।
नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्ममा नीता र अशोक मुख्य भूमिकामा छन् । उनीहरूसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ । फिल्मको कथा तथा पटकथा निर्देशक ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन रहेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन छ ।
फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने हरिहर अधिकारी निर्माता रहेका छन् । फिल्मको सम्पादन तथा टिजर र ट्रेलरको काम साहिल खानले गरेका छन् । रोयल भीमसेनले पोस्टर डिजाइन गरेका छन् । फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् । फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको निर्माण पक्षले जनाएको छ ।
यसअघि फिल्मका ‘नौ तुनाको रेल’ र ‘दिदीभाइ’ बोलका गीत सार्वजनिक भइसकेका छन् । फिल्मका गीतमा बाबुल गिरी, अशोक दर्जी, रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले स्वर दिएका छन् । गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । हर्क साउदको शब्द र दीपक शर्माको संगीत रहेको फिल्मका गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।










प्रतिक्रिया