सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । हास्यव्यङ्ग्यात्मक फिल्म ‘तिरिमिरी झ्याइँ’को छायांकन यतिबेला पूर्वी नेपालका विभिन्न पर्यटकीय स्थलमा भइरहेको छ । स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै सुनसरीको रामधुनी नगरपालिकाले फिल्मको सम्पूर्ण निर्माण टिमलाई सम्मान गरेको छ ।
रामधुनी नगरपालिकामा आयोजित विशेष समारोहमा नगर प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा तथा विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थितिमा फिल्म टिमलाई सम्मानपत्रसहित मायाको चिनो प्रदान गरिएको हो ।
सम्मान कार्यक्रममा नगर प्रमुख चौधरीले आफ्नो नगरपालिकामा फिल्मको छायांकन भइरहेकोमा खुसी व्यक्त गरे । उनले रामधुनी धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै फिल्ममार्फत यसको पहिचान अझ व्यापक रूपमा प्रचार हुने विश्वास व्यक्त गरे ।
‘हाम्रो नगरपालिकामा छायांकन भइरहेको खबर सुन्नेबित्तिकै एकदमै खुसी लाग्यो । भगवान् रामले धुनी बालेर आगो तापेको ऐतिहासिक तथा धार्मिक ठाउँ हो रामधुनी, जहाँ अहिले पनि निरन्तर आगो बलिरहेको छ । यहाँ भारतबाट समेत ठूलो संख्यामा सन्त, महन्त तथा भक्तजन आउने गर्छन्,’ उनले भने ।
उनले रामधुनीमा थुप्रै पर्यटकीय क्षेत्र तथा थारू संस्कृति झल्कने पहिचान रहेको बताउँदै ‘तिरिमिरी झ्याइँ’ले यसको प्रचारमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
नगरपालिकाबाट प्राप्त सम्मानप्रति निर्माता प्रद्युम्न बोगटी ‘प्रबिन’ले सम्पूर्ण टिमका तर्फबाट आभार व्यक्त गरे । उनले कला र संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने प्रयासको मूल्यांकन गर्दै सम्मान गरेकोमा रामधुनी नगरपालिका तथा नगर प्रमुखप्रति धन्यवाद व्यक्त गरे ।
आभास अधिकारीको कथा तथा अवधारणा र समीरको निर्देशनमा निर्माण भइरहेको ‘तिरिमिरी झ्याइँ’ पारिवारिक, मनोरञ्जनात्मक तथा सामाजिक कथामा आधारित फिल्म हो । फिल्मले समकालीन समाजका विभिन्न रमाइला तथा ठट्यौली पक्षलाई रोचक शैलीमा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममार्फत ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन् । फिल्ममा वरिष्ठ अभिनेता धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको मुख्य भूमिका रहनेछ ।
फिल्ममा भूपेन्द्र सिटौला ‘नीरज’, शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा सहनिर्माताका रूपमा जोडिएका छन् । विशाल कक्षपतिको छायांकन रहेको फिल्ममा अभिषेक कार्की संगीतकारका रूपमा छन् । गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद लेखेका हुन् ।
करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र रबिन काजी शाक्य प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन् । फिल्ममा सियोन श्रेष्ठको कोरियोग्राफी, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, दिलमाया रोकाको मेकअप, अप्सरा कुँवरको हेयर स्टाइल तथा रीजुन प्रधानको कस्ट्युम डिजाइन रहनेछ ।










प्रतिक्रिया