सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ । कुमार गजुरेलको निर्देशनमा तयार भएको फिल्म आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो ।
सार्वजनिक पोस्टरमा निरुता सिंहलाई यसअघिका भूमिकाभन्दा फरक तथा गम्भीर अवतारमा प्रस्तुत गरिएको छ । काखमा दुधे बालक बोकेर गम्भीर मुद्रामा उभिएकी निरुताको खुट्टाको पैतालाबाट रगत चुहिरहेको दृश्य पोस्टरमा देखाइएको छ । पोस्टरको प्रस्तुतिले फिल्मको कथाप्रति दर्शकमा कौतूहल बढाउने देखिन्छ ।
प्रदर्शन मिति घोषणा भएसँगै निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई तीव्रता दिने तयारी गरेको छ । किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको ‘सारथी’मा तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता छन् । फिल्मको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो ।
फिल्ममा निरुतासहित उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।
रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर छन् । फिल्मको छायांकन संकल्प भुजेलले गरेका हुन् ।
राजु खतिवडा मुख्य सहायक निर्देशक रहेको फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ । फिल्मका गीतमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालले स्वर दिएका छन् । फिल्ममा श्याम कार्की आर्ट डाइरेक्टर तथा गोविन्द खड्का ड्रेस कोर्डिनेटरका रूपमा रहेका छन् । फिल्मको वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ ।










प्रतिक्रिया