सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री सुहाना थापाले फिल्म ‘बा: एक योद्धा’ केही फरक र रोचक रहेको बताएकी छन् । भदौ १९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हेर्न आग्रह गर्दै उनले यसमा दर्शकले आफूलाई जोड्न सक्ने धेरै विषय रहेको बताएकी हुन् । फिल्ममा आफ्नो भूमिका र कथावस्तु आफूले यसअघि गरेका कामभन्दा फरक रहेको सुहानाको भनाइ छ। उनका अनुसार फिल्ममा सन्तानका लागि बाबा-आमाले गर्ने त्याग र संघर्षलाई प्रस्तुत गरिएको छ ।

‘हामी सबैलाई बाबा-आमाले हाम्रा लागि गर्नुभएको त्याग याद हुन्छ । तर, हामी त्यसलाई बाबा-आमाका अगाडि खुलेर भन्न सक्दैनौँ’, सुहानाले भनेकी छन्, ‘मेरो पात्रले मेरो लागि मेरो बुबाले कसरी त्याग गर्नुभएको छ भन्ने कुरा परिभाषित गरिदिएको छ ।’ फिल्ममा मनोरञ्जनसँगै दर्शकलाई भावनात्मक रूपमा जोड्ने विषय रहेको सुहानाको विश्वास छ । दर्शकलाई आफ्नै कथाजस्तो लाग्ने र सुरुदेखि अन्त्यसम्म बाँधेर राख्ने भएकाले ‘बा: एक योद्धा’ हेर्न उनले आग्रह गरेकी छन् ।

भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बा: एक योद्धा’मा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ।

फिल्ममा सुहानासँगै दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो। नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीत दिएका लम्साल रचनाकार तथा गायकसमेत हुन्। फिचर फिल्मतर्फ भने ‘बा: एक योद्धा’ उनको पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा पनि लम्सालकै रहेको छ।

फिल्मका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता रहेका छन्। शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। ‘बा: एक योद्धा’को वितरण आशिष एच. तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com