सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । बुधबार बिहान चीनको तिब्बततर्फ हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधन तथा पूर्वाधारमा ठूलो क्षति भएपछि बाढी प्रभावितका लागि विभिन्न क्षेत्रका व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न थालेका छन्। सहयोग अभियानमा नेपाली कलाकारले पनि अग्रसरता देखाएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहयोगका लागि क्यूआर कोडसहित बैंक खाता विवरण सार्वजनिक गरेपछि कलाकारहरूले कोषमा आर्थिक सहयोग गरिरहेका छन्। अभिनेता विराज भट्टले बिहीबार बिहान एक लाख ५१ हजार रुपैयाँ कोषमा सहयोग गरेका छन्। उनले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा सुरक्षित पुनःस्थापनाका लागि सबै नेपाली एकजुट हुन आग्रह गरेका छन्।

अभिनेता अनमोल केसीले पनि कोषमा सहयोग गरेको जानकारी दिँदै सबैलाई आफूले सकेको सहयोग गर्न अपिल गरेका छन्। अभिनेत्रीहरू ऋचा शर्मा, नीता ढुंगाना, आँचल शर्मा र जिया केसी, हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) तथा निर्माता सन्तोष सेन र सुशील पोखरेललगायतले पनि आर्थिक सहयोग गर्दै सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।

‘मह जोडी’का रूपमा परिचित मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा दुई लाख रुपैयाँ सहयोग गरेका छन्। उनीहरूले एक–एक लाख रुपैयाँका दरले सहयोग गरेको जनाइएको छ। पूर्वमिस नेपाल माल्भिका सुब्बा, निर्मात्री शर्मिला थापाले एक लाख रुपैयाँ तथा अभिनेत्री नीता ढुंगानाले पनि एक लाख रुपैयाँ सहयोग गरेका छन्। गायक प्रमोद खरेलले समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेका छन्।

हरिवंश आचार्यले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा पक्ष–विपक्ष नभनी देश तथा विदेशमा रहेका नेपालीलाई आफ्नो गच्छेअनुसार प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘बाढीको बितण्डताले देश रोइरहेको बेला पक्ष–विपक्ष नभनी देश–विदेशमा रहेका नेपालीलाई प्रधानमन्त्री राहत कोषमा आफ्नो गच्छेअनुसार सहयोग गर्न हार्दिक अनुरोध गर्दै हामी (मह)बाट एक–एक लाख गरी दुई लाख रुपैयाँ कोषमा सहयोग गर्दछौँ।’

कलाकारहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खाता विवरण तथा क्यूआर कोड सामाजिक सञ्जालमा समेत सेयर गर्दै विपद्मा परेका नागरिकका लागि सहयोग गर्न अपिल गरिरहेका छन्। केही कलाकारले भिडियो सन्देशमार्फत रसुवा बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्न आग्रह गरेका छन्।

नेपाल प्रहरीका अनुसार रसुवामा आएको बाढीमा परी अहिलेसम्म १५७ जनाको शव फेला परेको छ भने अझै सयौँ व्यक्ति सम्पर्कविहीन छन्। बाढीका कारण टिमुरे, स्याफ्रुबेंसी, हाकुबेंसीलगायत रसुवाका एक दर्जनभन्दा बढी बस्तीमा ठूलो क्षति पुगेको छ। नुवाकोट र धादिङका तटीय क्षेत्रमा समेत बाढीले व्यापक क्षति पुर्‍याएको छ।

यतिबेला नेपाली सेनाले हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको छ। विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कलाकारसहित विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com