सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आज शुक्रबारदेखि फिल्म ‘पार्वती’ देशभरका हलमा प्रदर्शनमा आएको छ। निर्देशक तथा अभिनेत्री नीता ढुङ्गाना र बालगायक तथा कलाकार अशोक दर्जीको अभिनय रहेको फिल्मलाई देशभरका प्रदर्शकले उत्साहजनक शो दिएका छन्। फिल्मका प्रचार सामग्री तथा ट्रेलरले दर्शकमाझ राम्रो प्रभाव पारेकाले ‘पार्वती’ले राम्रो सुरुआत गर्ने अपेक्षा गरिएको छ।
फिल्ममा अटिजम भएकी एक महिलाको जीवन, उनका भाइसँगको आत्मीय सम्बन्ध, प्रेम तथा समाजसँगको संघर्षलाई मुख्य विषय बनाइएको छ। निर्देशक तथा कथाकार नीता ढुङ्गानाका अनुसार घर तथा समाजबाट उपेक्षित दिदीलाई भाइले दिने माया, साथ र समर्पणको कथाले दर्शकको मन छुनेछ।
नीता ढुङ्गानाको कथा तथा निर्देशन रहेको फिल्म दिदी र भाइबीचको माया तथा स्नेहमा केन्द्रित छ। फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको कथा तथा पटकथा नीता ढुङ्गानाकै रहेको छ भने संवाद तथा स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका छन्।
हरिहर अधिकारी निर्माता रहेको फिल्ममा शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर छन्। फिल्मको उपत्यका तथा उपत्यकाबाहिरको वितरणको जिम्मेवारी एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्।










प्रतिक्रिया