सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘लज्जावती’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेको छैन। गत साउन २९ गतेदेखि प्रदर्शनमा आएको फिल्मले भदौ १४ गतेसम्म ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’को तथ्यांकले देखाएको छ।
उक्त अवधिसम्म फिल्मका २ हजार ७ सय ३५ वटा टिकट बिक्री भएका छन्। प्रेमकथामा आधारित फिल्म ‘लज्जावती’को निर्देशन राजबहादुर सानेले गरेका हुन्। सामाजिक विषयवस्तुमा आधारित ‘पाठशाला’, ‘लाटी’, ‘वृन्दावन’, ‘वीरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिली फो’, ‘बुलाकी’ र ‘सिटामोल’लगायत फिल्म निर्देशन गरिसकेका सानेले यसपटक प्रेम सम्बन्धमा आउने उतारचढाव र संघर्षलाई कथाको केन्द्रमा राखेका छन्।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझी मुख्य भूमिकामा छन्। त्यस्तै, विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सीपी पौडेल, आरआर खड्का, दीपक थापा र काजल भुजेललगायत कलाकार सहायक भूमिकामा देखिएका छन्।
निर्माता शर्माका अनुसार फिल्म करिब दुई करोड रुपैयाँको लगानीमा निर्माण भएको हो। आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।









प्रतिक्रिया