सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण फिल्म ‘बा : एक योद्धा’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अब मंसिर २४ गते बिहीबारदेखि प्रदर्शनमा आउने भएको छ ।

फिल्मको निर्माण संस्था आर्टिस्टिक इन्टरटेन्मेन्टले भदौ १५ गते प्रेस विज्ञप्ति जारी गर्दै देशमा देखिएको विषम परिस्थितिलाई ध्यानमा राख्दै प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको जनाएको हो ।

विज्ञप्तिमा भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित क्षेत्रमा रहेका नागरिकको तत्काल उद्धार र राहतको कामना गरिएको छ ।

निर्माण पक्षले देशको एउटा भूगोल प्राकृतिक विपत्तिमा परेका बेला सामाजिक तथा पारिवारिक कथावस्तु बोकेको फिल्म प्रदर्शन गर्नु उचित नहुने निष्कर्ष निकालेको जनाएको छ।

‘हाम्रो बुझाइमा फिल्म समाजको ऐना मात्र होइन, यो मानवीय संवेदनाको संवाहक पनि हो। देशको एउटा भूगोल अकल्पनीय प्रलयमा परी हाम्रा बुवा-आमा, दाजुभाइ-दिदीबहिनीहरूले आर्तनाद गरिरहेको वर्तमान अवस्थामा एउटा सामाजिक र पारिवारिक कथावस्तु बोकेको फिल्म हाल प्रदर्शन गर्न हामीले उपयुक्त ठानेनौँ’, विज्ञप्तिमा भनिएको छ ।

निर्माण पक्षले प्रदर्शन मिति स्थगित गर्दा दर्शक, प्रदर्शक, वितरक तथा सञ्चारकर्मीमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ । यसैबीच, ‘बा : एक योद्धा’ परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरिएको निर्माण पक्षले जनाएको छ।

राष्ट्र नै शोकमा डुबेको अवस्थामा देश तथा विदेशमा रहेका नेपालीलाई विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि आ-आफ्नो तर्फबाट सहयोग गर्न निर्माण पक्षले आग्रह गरेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com