सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कलाकार तथा फिल्मकर्मीबाट सहयोग जुट्ने क्रम जारी छ। यसैक्रममा छायांकनको तयारीमा रहेको नेपाली फिल्म ‘युग’को निर्माण टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

फिल्मका निर्देशक कोमलनाथ खतिवडाका अनुसार देशमा सिर्जिएको विपद्को अवस्थालाई मध्यनजर गर्दै निर्माण टोलीको सहमतिमा उक्त रकम राहत कोषमा जम्मा गरिएको हो।

विपद्को कठिन समयमा फिल्म निर्माणभन्दा पहिले राज्य र पीडित नागरिकलाई साथ दिनु सबैको दायित्व भएको निर्देशक खतिवडाले बताए। उनका अनुसार अहिलेको प्राथमिकता पीडितको राहत तथा उद्धारमा सहयोग गर्नु हो।

यसअघि काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा फिल्म ‘युग’को शुभमुहूर्त गरिएको थियो। फिल्मको छायांकन भदौ १५ गतेदेखि सुरु गर्ने तयारी भए पनि देशमा उत्पन्न विषम परिस्थितिका कारण केही दिनका लागि छायांकन स्थगित गरिएको निर्माण पक्षले जनाएको छ।

परिस्थिति सामान्य बन्दै गएमा फिल्मको निर्माण टोली यही साताभित्र छायांकनका लागि पोखरा प्रस्थान गर्ने तयारीमा रहेको निर्देशक खतिवडाले जानकारी दिएका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com