सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । बलिउड अभिनेता तथा समाजसेवी सोनु सूद भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशूली पुगेका छन् । भारतबाट आएका सहयोगीहरूसहित बुधबार उनी बाढी प्रभावित क्षेत्रमा पुगेका हुन् । त्रिशूली नदी किनारमा बाढीले पुर्‍याएको क्षतिको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै सूदले आफूले त्यहाँ अकल्पनीय क्षति देखेको बताएका छन् ।

बाढीबाट भत्किएका घर, प्रभावित परिवार र अस्तव्यस्त बनेको जनजीवन देखेपछि उनले प्रभावित परिवारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आशा जगाउने, घरहरू पुनर्निर्माण गर्ने र प्रभावित परिवारलाई नयाँ सुरुवात गर्न सहयोग गर्ने बताएका हुन् ।

सूदले लेखेका छन्, ‘आज यहाँ त्रिशूली नदी किनारमा उभिँदा बाढीले छाडेर गएको अकल्पनीय क्षति देखिरहेको छु । भत्किएका घरहरू, उजाडिएका परिवारहरू र सधैंका लागि बदलिएका जीवनहरू । नेपाल एक्लो छैन । म नेपाली जनताको साथमा छु ।’

उनले अगाडि लेखेका छन्, ‘आशा जगाउन, घरहरू पुनर्निर्माण गर्न र प्रभावित परिवारलाई फेरि नयाँ सुरुवात गर्न मद्दत गर्न म आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु ।’

सूदले आफ्नो सामाजिक संस्था सूद च्यारिटी फाउन्डेसनमार्फत प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका काम अघि बढाउने जनाएका छन् । यसअघि मंगलबार काठमाडौं आइपुगेका सूदले बाढीपीडितका लागि ‘एक घर बनाउने संकल्प’ अभियान अघि बढाउने प्रस्ताव गरेका थिए । उनले टाढाबाट सहयोग पठाउनुभन्दा प्रभावित क्षेत्रमा आफैँ पुगेर पीडितलाई साथ र हौसला दिनुको प्रभाव ठूलो हुने बताएका थिए ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com