सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’को भोटेकोशी बाढी प्रभावितका लागि विशेष च्यारिटी प्रदर्शन गरिएको छ ।च्यारिटी प्रदर्शनमा सहभागी दर्शकहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको क्यूआरमार्फत आफ्नो इच्छाअनुसार रकम सहयोग गरेका थिए ।
कार्यक्रममा अभिनेत्री मनिषा कोइराला, करिश्मा मानन्धर, ऋचा शर्मा र उषा रजक लगायत सहभागी थिए । फिल्म प्रदर्शन सकिएपछि दर्शकहरूले ताली बजाउँदै कलाकार तथा निर्माण टोलीलाई स्ट्यान्डिङ ओभेसन दिएका थिए ।
पटकथाकार तथा निर्देशक अविनाशविक्रम शाहले फन्डरेजर स्क्रिनिङ आयोजना गर्नुको उद्देश्यबारे बोल्दै विपत्तिको समयमा आफूहरूले सक्दो सहयोग गर्ने प्रयास गरेको बताए ।
अस्कर अवार्डमा आवेदन दिनुपर्ने भएकाले प्रदर्शन मिति परिवर्तन नगर्ने निर्णय गरिएको निर्माण पक्षको भनाइ छ । फिल्म प्रदर्शनलाई निरन्तरता दिँदै त्यसबाट प्राप्त हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चलाई नेपालका कथा, भोगाइ, पीडा तथा जलवायु परिवर्तनका मुद्दा विश्वसामु पुर्याउने माध्यमका रूपमा उपयोग गर्ने प्रतिबद्धता पनि निर्माण पक्षले जनाएको छ ।









प्रतिक्रिया