सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्म ‘कंगाल करोडपति’को शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ। प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडालगायतका कलाकारको अभिनय रहनेछ।

भदौ २९ गतेदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन्। अश्विन बराल, दिपेश तिरुवा तथा प्रविन राई फिल्मका सहनिर्माता हुन्। यस्तै, रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसर रहेका छन्।

फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका हुन् भने पटकथा तथा संवाद चानस पुन मगरले तयार पारेका छन्। सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा हरि घले लामाको छायांकन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ।

फिल्ममा एसडी योगी, निराजन राई र दिप्सन लिम्बूसहित तीन जना संगीतकारको संगीत रहनेछ भने नृत्य निर्देशन प्रदीप लामाले गर्नेछन्। जीवन गौतम मुख्य सहनिर्देशक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र सुदीप अधिकारी कला निर्देशकका रूपमा छन्।

सामाजिक तथा पारिवारिक विषयवस्तुमा निर्माण हुने फिल्मको शुभ-मुहूर्तअघि रसुवा, नुवाकोट र धादिङमा हालै गएको बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो । यसैबीच, निर्माण पक्षले बाढीपहिरोपीडितको सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com