सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले ३ मिनेट २४ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण पक्षले फिल्म प्रदर्शनपछि निर्माताको भागमा आउने रकमको १० प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ। हलबाट निर्माताको भागमा आएको रकमको १० प्रतिशत कोषमा सहयोग गर्ने निर्माण पक्षले जनाएको हो।

सार्वजनिक ट्रेलरमा अभिभावकले छोरीको इच्छा र चाहनाविपरीत खान्दानी परिवारको केटासँग जबर्जस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक प्रभावलाई मुख्य विषय बनाइएको छ। मार्मिक तथा सन्देशमूलक कथावस्तुमा आधारित फिल्मको ट्रेलरले नेपाली समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको देखिन्छ।

विनयराज पौडेलको निर्देशनमा बनेको फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय छ। फिल्ममा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको ‘अक्षरा’की प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना फिल्मका लगानीकर्ता हुन् भने सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता रहेका छन्।

निर्माता उग्रसेनकै मूल कथामा बनेको फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्। सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर रहेको छ।

दिपेन बस्न्यातको छायांकन रहेको फिल्मलाई गौतम खड्काले सम्पादन गरेका छन्। साहिल खानले टिजर तथा ट्रेलर कट गरेका छन् भने रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले फिल्मको वितरण गर्नेछन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com