सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । देशभर सफलताका साथ प्रदर्शनरत फिल्म ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । यो वर्ष हालसम्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको ‘गौँथली’ले काठमाडौं उपत्यकासहित देशभरका तीन दर्जनभन्दा बढी हलमा ५१औँ दिन मनाएको हो।

निर्माता सुमन गिरीका अनुसार फिल्म अहिले ४३ हलमा ५९ शोसहित प्रदर्शन भइरहेको छ । फिल्मले हालसम्म २५ करोड ८० लाख ५ हजार ५ सय २५ रुपैयाँ कलेक्सन गरेको उनको दाबी छ। फिल्मका हालसम्म नेपालभरमा ९ लाख ३६ हजार टिकट बिक्री भईसकेको छ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’पछि ‘गौँथली’ नेपाली फिल्म उद्योगमा सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको निर्माण पक्षको दाबी छ।

फिल्मको ५१औँ दिन पूरा भएको अवसरमा निर्देशक डा. कपिल रिजालले दर्शकको मायाका कारण यो सफलता सम्भव भएको बताए । ‘हाम्रो मेहनत र दर्शकको मायाले हामी ५१औँ दिन मनाउन सफल भएका छौँ। यो मायाले हामीलाई थप जिम्मेवार बनाएको छ’, उनले भने ।

निर्देशक रिजालले दर्शकबाट प्राप्त मायालाई आत्मसात् गर्दै थप जिम्मेवारीका साथ आफूहरू चाँडै नयाँ काम लिएर दर्शकमाझ आउने बताए । उनले फिल्मलाई निरन्तर साथ दिएकोमा दर्शकप्रति आभारसमेत व्यक्त गरेका छन् ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com