सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको संकट अझै सामान्य अवस्थामा फर्किन सकेको छैन । बाढी गएको १२ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रका नागरिकको अवस्था दयनीय रहेको भन्दै बलिउड अभिनेत्री भूमि पेडनेकरले सहयोगका लागि विश्व समुदायसमक्ष अपिल गरेकी छन्।
अभिनेत्री पेडनेकरले सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै नेपाललाई अहिले सहयोगको आवश्यकता रहेको भन्दै सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेकी हुन्।
भिडियो सन्देशमार्फत उनले नेपाल अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेको बताउँदै बाढी प्रभावित नागरिकलाई तत्काल ग्यास, बत्ती, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आवश्यकता रहेको उल्लेख गरेकी छन्।
बाढी र त्यसपछि सिर्जित विपत्तिका कारण ठूलो मानवीय क्षति भएको, धेरै नागरिकले ज्यान गुमाएको तथा अझै ठूलो सङ्ख्यामा मानिसहरू हराइरहेको भन्दै उनले प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेकी छन्।
भूमिले संकटको यस्तो घडीमा नेपाल एक्लो नरहेको महसुस गराउन विश्वभर रहेका नागरिकलाई आ-आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेकी छन्। सहयोग गर्न इच्छुक व्यक्तिका लागि सम्पर्क गर्ने माध्यमसहितको लिंकसमेत उनले भिडियोमा राखेकी छन्।
नेपालको विपत्तिमा आफ्नो तर्फबाट समेत विशेष सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भूमिले नेपाली नागरिकलाई आवश्यक परेको बेला साथ दिन विश्व समुदायलाई आग्रह गरेकी हुन्।
नेपालको विपत्तिमा सहयोगको अपिल गर्ने भूमि पहिलो बलिउड कलाकार भने होइनन् । यसअघि पनि बलिउडका थुप्रै कलाकारले सामाजिक सञ्जालमार्फत नेपाली बाढीपीडितको अवस्थाप्रति चासो व्यक्त गर्दै सहयोगका लागि आह्वान गरिसकेका छन्। बलिउड अभिनेता सोनु सूद केही दिनअघि बाढी प्रभावितलाई राहत लिएर नेपाल आएका थिए।









प्रतिक्रिया