सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं । आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को रोमान्टिक गीत ‘तिमीसँग नबोली’ सार्वजनिक गरिएको छ । ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेर र मनिषा सुनारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा अर्जुन पोखरेलको संगीत छ। प्रेममा रहेका युवायुवतीबीचको भावनात्मक सम्बन्धलाई गीतमार्फत प्रस्तुत गरिएको छ।

रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी नीति शाह र प्रभात पाल ठकुरीको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ। आकर्षक लोकेशन र छायांकनले गीतको भिडियोलाई थप सुन्दर बनाएको छ। निर्माण पक्षका अनुसार फिल्मको कथावाचनमा समेत यो गीतलाई प्रयोग गरिएको छ।

फिल्मको यसअघि ‘जदौ हजुर’ गीत सार्वजनिक भइसकेको छ। अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्ममा नीति शाह र प्रभात पाल ठकुरीसँगै मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्गबहादुर पुन मगर, सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्कीलगायतका कलाकारको अभिनय छ।

फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक काजी लिम्बू स्वयंले तयार पारेका हुन्। सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन तथा मनोज चौलागाईंको पार्श्व संगीत रहेको छ। फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको छ। ‘जदौ’ अन्तरजातीय प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com