सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ‘जलाकी’बाट नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चरित्र पोस्टर सार्वजनिक भएको छ । कुसे औँसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर निर्माण टिमले साहाराको सोलो पोस्टर सार्वजनिक गरेको हो । फिल्ममा उनी मुख्य अभिनेत्रीमध्येकी एक हुन् ।
पोस्टरमा साहारा मगर समुदायको सांस्कृतिक पहिरनमा प्रसन्न मुद्रामा सोचमग्न देखिएकी छन्। फिल्ममा उनले आधुनिक सोच भएकी, ‘ओपन माइन्डेड’ तथा राम्रो पारिवारिक पृष्ठभूमिबाट आएकी युवतीको भूमिका निर्वाह गरेकी छन् । निर्माण टिमका अनुसार उनी पोखराकी सफल र स्वतन्त्र व्यवसायी महिलाकी छोरीको भूमिकामा देखिनेछिन् ।
सिक्किमकी साहारा ‘मिस टिन इन्डिया २०२२’ र ‘मिस टिन २०२२’की विजेता हुन् । उनले ‘मिस टिन युनिभर्स २०२२’मा पनि सहभागिता जनाएकी थिइन् । त्यसबाहेक ‘मिस बेस्ट र्याम्पवाक सिक्किम’, ‘मिस कन्जेनियालिटी इन्डिया’को उपाधि जितेकी उनले अन्तर्राष्ट्रिय किशोर प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने पहिलो उत्तरपूर्वी किशोरीको रूपमा समेत सहभागिता जनाएकी थिइन् । उनी ‘मिस इन्डिया सिक्किम २०२४’मा पनि सहभागी भएकी थिइन् ।
मण्डला थिएटरमा अभिनय प्रशिक्षण लिएकी साहारा अडिसनमार्फत ‘जलाकी’मा छनोट भएकी हुन् । तर, उनको लागि यो फिल्मको यात्रा सहज भने रहेन । फिल्मको छायांकनकै क्रममा उनले जीवनकै सबैभन्दा कठिन समयको सामना गर्नुपर्यो । छायांकनकै क्रममा कार दुर्घटनामा उनका बुबाको निधन भयो । काठमाडौंमा फिल्मको छायांकनका लागि आउनुअघि उनले बुबालाई भेटेकी थिइन् । त्यही भेट उनीहरूको अन्तिम भेट बन्न पुग्यो ।
फिल्ममा काम गर्ने निश्चित भएपछि सबैभन्दा पहिले बुबालाई नै जानकारी गराएको साहारा सम्झिन्छिन् । बुबा आफू अभिनेत्री बनेर फर्किएको हेर्न निकै उत्साहित रहेको उनको भनाइ छ ।
‘मैले ‘जलाकी’मा काम गर्ने फाइनल भएपछि सुरुमा बाबालाई भनेकी थिएँ । उहाँ एकदमै खुसी हुनुभएको थियो । बाबाले ‘अर्को पटक तिमी अभिनेत्री भएर फर्किन्छौ, म तिमीलाई यही बाटोमा खादा लिएर स्वागत गर्न आउनेछु’ भन्नुभएको थियो । तर त्यो सपना अधुरै रह्यो’, साहाराले भनेकी छन् ।
बुबाको अन्तिम बिदाइ सकेको चार दिनमै साहारा पुनः फिल्मको छायांकनमा फर्किइन् । उनका अनुसार आफूलाई ठूलो पर्दामा हेर्ने सपना बुबाको आफ्नै सपनाभन्दा पनि ठूलो थियो ।
‘मलाई सिल्भर स्क्रिनमा हेर्ने सपना मेरोभन्दा पनि ठूलो बुबाको सपना थियो । म बुबाको सपना अधुरो रहोस् भन्ने चाहन्नथेँ। त्यसैले छिटै काममा फर्किहालेँ’, उनले भनेकी छन्, ‘ममी र दिदीले पनि ‘बाबाको सपना पूरा गरेर जाऊ’ भनेर थप हौसला र हिम्मत दिनुभयो। उहाँहरूकै हिम्मतले फर्केर सुटिङ गर्न सकेँ ।’
साहाराका अनुसार उनलाई फिल्म क्षेत्रमा आउन परिवार र समाजसँग संघर्ष गर्दा सबैभन्दा ठूलो साथ दिने व्यक्ति उनका बुबा नै थिए। त्यसैले बुबाको सपना पूरा गर्ने उद्देश्यले आफूले कामलाई निरन्तरता दिएको उनी बताउँछिन् । साहाराले ‘जलाकी’लाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भनेकी छन् । फिल्मका लागि आफूले निकै मेहनत गरेको भन्दै उनी प्रदर्शनलाई लिएर उत्साहित छिन् ।
निर्देशक अशोक थापा मगरका कारण डेब्यु फिल्ममा काम गर्न थप सहज भएको पनि उनले बताएकी छन् । त्यस्तै, फिल्मका छायाकार शैलेन्द्र डी. कार्कीले पनि आफूलाई निकै सहयोग गरेको साहाराले बताएकी छन् । सम्पूर्ण निर्माण टिम सहयोगी र परिवारजस्तै भएकाले काम गर्न सहज भएको उनको भनाइ छ ।
फिल्मको कथा पनि आफूलाई निकै मन परेको उनको भनाइ छ । ‘जलाकी’मा आफूले निर्वाह गरेको चरित्रसँग व्यक्तिगत रूपमा पनि जोडिन सकेको उनले बताएकी छन् । उनका अनुसार फिल्मको कथासँग आफू मात्र नभई एकतर्फी प्रेममा परेका दर्शकले पनि आफूलाई जोड्न सक्नेछन् । अशोक थापा मगरको निर्देशनमा बनेको ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा साहारासहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन लगायतका कलाकारको अभिनय छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन्।






प्रतिक्रिया