सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नीता ढुङ्गानाको निर्देशन तथा अभिनय रहेको फिल्म ‘पार्वती’ तेस्रो हप्तामा सफलतापूर्वक प्रदर्शन भइरहेको छ । अटिजमको विषयमा बनेको फिल्मले दर्शकबाट माया पाइरहेका बेला शनिबार फिल्म हेर्न पुगेका वरिष्ठ कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले नीताको अभिनय र फिल्मको कथावस्तुको प्रशंसा गरेका छन् ।

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरेपछि निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाको खुलेर प्रशंसा गरे । अटिजम भएकी युवतीको भूमिका निर्वाह गरेकी नीतालाई पात्रका रूपमा हेर्दा आफूले वास्तविक नीतालाई नै बिर्सिएको उनले बताए । ‘नीता ढुङ्गानाले यस्तो अभिनय गर्लिन् भनेर अन्दाज नै गरेको थिइनँ। सुरुदेखि अन्तिमसम्म एक्टिङमा होल्ड गर्न सकेकी छन्’, मदनकृष्णले भने।

उनले फिल्मले अटिजम भएका व्यक्तिको भावना र संवेदनालाई बुझ्न बाध्य बनाउने बताए । ‘उनीहरूको पनि दिल हुन्छ, मन हुन्छ भन्ने कुरा यो फिल्मले सोच्न बाध्य बनाएको छ’, उनले भने। उनका अनुसार ‘पार्वती’ हेर्ने दर्शक एउटा किताब पढेभन्दा बढी शिक्षित हुनेछन् ।

मदनकृष्णसँगै फिल्म हेर्न पुगेकी उनकी बुहारी रिङ्कुले पनि नीतालाई बधाई दिँदै फिल्मको विषयवस्तुको प्रशंसा गरिन्। फरक क्षमता भएका व्यक्तिका परिवारले समाजबाट भोग्नुपर्ने व्यवहार र चुनौतीलाई फिल्मले प्रभावकारी रूपमा प्रस्तुत गरेको उनको भनाइ थियो।

संविधानविद् तथा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य पनि फिल्म हेरेपछि भावुक देखिए । उनले नीताको अभिनयको विशेष प्रशंसा गर्दै आफूले यस्तो स्तरको अभिनय यसअघि नदेखेको बताए ।

‘यो फिल्ममा नीता ढुङ्गानाले जुन अभिनय गर्नुभएको छ, यो लेभलको एक्टिङ मैले देखेकै छैन’, आचार्यले भने । उनका अनुसार संवेदनशील विषयलाई फिल्मको कथावस्तु बनाउनु आफैँमा जोखिमपूर्ण भए पनि निर्माण टिमले महत्वपूर्ण सन्देश दिन सफल भएको छ ।

चर्चित हास्यकलाकार किरण केसी ‘रातामकै’ले फिल्मको कथावस्तु र निर्देशन दुवै बलियो रहेको बताए । उनले नीताले आफैँलाई निर्देशन गर्दै पात्रलाई पर्दामा प्रभावकारी रूपमा उतारेको र दर्शकलाई भावनात्मक रूपमा बाँध्न सफल भएको बताए ।

‘यो फिल्मको कथावस्तु नै एकदमै बलियो छ। साथै निर्देशन पक्ष पनि एकदमै बलियो लाग्यो । नीताले आफूलाई आफैँले निर्देशन गरेर त्यो पात्रको ट्र्याकमा दर्शकलाई समातेर सेकेन्ड–सेकेन्डमा रुवाउन सक्ने क्षमता देखाएकी छन्’, उनले भने।

किरण केसीले फिल्मको प्रशंसा गर्दै आफ्नो हातमा अधिकार भएको भए ‘पार्वती’लाई कान्स अवार्डसम्म पठाउन सक्ने टिप्पणीसमेत गरे। फिल्म हेर्न पुगेका अभिनेता जितु नेपाल, सञ्चारकर्मी प्रकाश सुवेदी, नरेश भट्टराईलगायतले पनि ‘पार्वती’को प्रशंसा गरेका छन्।

भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा नीता ढुङ्गाना र अशोक दर्जीले दिदी-भाइको भूमिका निर्वाह गरेका छन्। अटिजम भएकी दिदी र भाइबीचको भावनात्मक सम्बन्धलाई फिल्मको मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ।

अटिजम भएकी छोरीलाई समाजले हेर्ने दृष्टिकोण तथा उनका बुवाआमाले भोग्नुपर्ने सामाजिक र पारिवारिक चुनौतीलाई फिल्मले कथामा समेटेको छ। यही संवेदनशील विषयवस्तु र नीताको अभिनयलाई दर्शकले रुचाइरहेका छन्।

फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन्। हरिहर अधिकारी निर्माता रहेको फिल्म अहिले तेस्रो हप्तामा प्रदर्शनरत छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com