सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ९९औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट भएको छ । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले यस फिल्मलाई अस्करको प्रतिस्पर्धाका लागि नेपालको तर्फबाट सिफारिस गरेको हो ।

९९औँ अस्करका लागि यस वर्ष समितिमा दुई नेपाली कथानक फिल्मले आवेदन दिएका थिए । ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’मध्ये समितिले ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई छनोट गरेको हो ।

समितिका अनुसार दुवै फिल्मको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा कलात्मक शिल्पको मूल्यांकनपछि ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई उत्कृष्ट ठहर गर्दै नेपालको तर्फबाट सिफारिस गरिएको हो।

कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेको ‘एलिफेन्ट्स इन द फग’ गत शुक्रबारदेखि नेपालमा प्रदर्शनरत छ। जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा फिल्मले प्रस्तुत गर्छ।

अविनाश विक्रम शाहको निर्देशन तथा पटकथा रहेको फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ, आकांक्षा कार्कीलगायत कलाकारको अभिनय रहेको छ। फिल्मको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले लेखेका हुन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com