सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को देशभरका हलमा अग्रिम टिकट बुकिङ खुला गरिएको छ। असोज २ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मले प्रारम्भिक चरणमा ६० भन्दा बढी शो पाएको छ।

निर्देशक बस्नेतका अनुसार दर्शकको चाप बढेसँगै फिल्मको शो संख्या थपिँदै जानेछ। भारी बोक्ने भरियाको जीवन, विवाह, सन्तानको खुसी, गाउँलेको हेपाइ तथा दोस्रो विवाहको कथावरिपरि घुमेको फिल्ममा जितु नेपाल ‘कार्की साइँला’को भूमिकामा देखिएका छन्। फिल्ममा जितु नेपाल र प्रियना आचार्य ‘मुन्नी’को मुख्य भूमिका रहेको छ।

फिल्ममा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।

बालकुमार राईको लगानी तथा कृष्ण भगत चाम्लिङको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्। कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको कथा सबिन अधिकारी र शंकर धितालले लेखेका हुन्। मुख्य सहायक निर्देशक रोजल थापा हुन्।

डम्बर राईको छायांकन रहेको फिल्म धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरालगायत स्थानमा खिचिएको हो। किरण दाहालको द्वन्द्व निर्देशन तथा दिप्सन लिम्बु र संकेत अगस्थीको संगीत रहेको फिल्मको ‘लग्यौ परान’ गीतले पछिल्लो समय दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

सिबी भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रबी केसीको शृंगार रहेको फिल्मको पोस्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गरेको हो। डिजिटल पार्टनर मुभिज डिजिटेनमेन्ट रहेको फिल्मलाई कुबेर फिल्म्सले नेपालभरका हलमा वितरण गर्नेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com