सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भारतीय अभिनेता शाहरूख खानको अनुमानित सम्पत्ति एक वर्षमा २ हजार ४९० करोड भारूले घटेको छ । सम्पत्ति घटे पनि उनी भारतकै सबैभन्दा धनी अभिनेता बनेका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार ‘हुरून इन्डिया रिच लिस्ट २०२६’ मा शाहरूखको अनुमानित सम्पत्ति १० हजार करोड भारू उल्लेख गरिएको छ । उनी लगातार दोस्रो वर्ष भारतका सबैभन्दा धनी अभिनेता बनेका हुन् ।

सन् २०२५ को ‘हुरून इन्डिया रिच लिस्ट’मा शाहरूखको अनुमानित सम्पत्ति १२ हजार ४९० करोड भारू थियो । त्यतिबेला उनी पहिलोपटक अर्बपतिको सूचीमा समेत परेका थिए ।

यस वर्ष उनको अनुमानित सम्पत्ति घटेर १० हजार करोड भारूमा झरेको हो । यस हिसाबले एक वर्षमा उनको अनुमानित सम्पत्ति २ हजार ४९० करोड भारूले घटेको छ। यद्यपि, उनी सूचीको पहिलो स्थानमै छन् ।

शाहरूखको सम्पत्तिमा फिल्मबाट हुने आम्दानीसँगै उनको फिल्म निर्माण कम्पनी रेड चिलिज इन्टरटेनमेन्ट र इन्डियन प्रिमियर लिग (आईपीएल)को टोली कोलकाता नाइट राइडर्ससँग सम्बन्धित व्यावसायिक लगानीसमेत समावेश गरिएको छ। निजी कम्पनी, लगानी तथा अन्य सम्पत्तिको मूल्यांकनमा हुने परिवर्तनका कारण हुरूनले सार्वजनिक गर्ने सम्पत्तिको अनुमानमा पनि फरक पर्न सक्ने जनाइएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com