सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली-गोर्खाली समुदायको धर्म, संस्कृति, भाषा, परम्परा, नारीशक्ति र सामाजिक एकतालाई प्रस्तुत गर्दै नयाँ दिल्लीमा आयोजित ‘हरितालिका तीज महोत्सव तथा हाम्रो गौरव अवार्ड वितरण कार्यक्रम २०२६’ सम्पन्न भएको छ ।
हाम्रो स्वाभिमान ट्रस्ट र पतञ्जलि योगपीठ, हरिद्वारले दिल्ली सरकारको सहयोगमा आयोजना गरेको महोत्सव नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्सको केडी जाधव रेस्लिङ स्टेडियममा सम्पन्न भएको हो। आयोजकका अनुसार कार्यक्रममा २५ हजारभन्दा बढी श्रद्धालु, दर्शक तथा नेपाली–गोर्खाली समुदायका सदस्य सहभागी भएका थिए ।
महोत्सव योगऋषि स्वामी रामदेव र आचार्य बालकृष्णको सान्निध्यमा सम्पन्न भएको थियो। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। दिल्ली सरकारका कला, संस्कृति तथा भाषा मन्त्री कपिल मिश्रा पनि कार्यक्रममा सहभागी थिए। कार्यक्रममा हरितालिका तीजलाई धार्मिक पर्वसँगै नारीशक्ति, आस्था, पारिवारिक मूल्य र नेपाली–गोर्खाली सांस्कृतिक पहिचानको उत्सवका रूपमा प्रस्तुत गरिएको थियो।
महोत्सवको मुख्य आकर्षणका रूपमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० व्यक्तित्वलाई ‘हाम्रो गौरव अवार्ड २०२६’ प्रदान गरिएको थियो। अवार्ड प्राप्त गर्नेमा पद्मश्री डा. गम्भीर सिंह रैजोन, स्वर्गीय गोपाल सिंह नेपाली, देवराज उपाध्याय, डा. गोकुल सिन्हा, भारतीय राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सुनील छेत्री, संगीत क्षेत्रकी शान्ति थापा, व्यवसाय तथा उद्यमितातर्फ कृष्ण कँडरिया, महिला सशक्तीकरणतर्फ एसीपी जमुना थापा, कला तथा संस्कृतितर्फ विनोद खनाल र कृषि तथा जैविक खेतीतर्फ भावेश निरौला रहेका थिए।
महोत्सवमा लोकप्रिय गायक प्रकाश सपूत, इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका संस्थापक तथा लोकगायक कृष्ण कँडेल, बालकलाकार आद्याश्री उपाध्याय र लोकदोहोरी गायिका आशा बीसीलगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए। लोकगीत, लोकदोहोरी, नृत्य तथा विभिन्न मौलिक सांस्कृतिक प्रस्तुतिले कार्यक्रमस्थललाई उत्सवमय बनाएको थियो।
महोत्सवका क्रममा नेपालका विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागीले प्रभावित परिवारप्रति समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेका थिए। आयोजकका अनुसार विपद् प्रभावित नागरिकको सहयोगका लागि राहत तथा सहयोग अभियानलाई समेत कार्यक्रमसँग जोडिएको थियो।
कार्यक्रमस्थलमा भगवान शिव र माता पार्वतीको प्रतिमा तथा पूजाको व्यवस्था गरिएको थियो। तीजको अवसरमा सहभागी महिला तथा भक्तजनले शिव–पार्वतीको दर्शन तथा पूजा–अर्चना गरेका थिए। व्रत, पूजा, सांस्कृतिक प्रस्तुति तथा सामुदायिक भेटघाटमार्फत प्रवासमा रहेका नेपाली–गोर्खाली समुदायलाई आफ्नो मौलिक संस्कार र परम्परासँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सफल बनाउन हाम्रो स्वाभिमान ट्रस्टका केन्द्रीय पदाधिकारी, विभिन्न समिति, स्वयंसेवक तथा सहयोगी संघसंस्थाको भूमिका रहेको थियो। ट्रस्टका केन्द्रीय मुख्य संयोजक योगगुरु डा. मोहन कार्की लगायतको समन्वयमा अतिथि व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, कलाकार व्यवस्थापन, सम्मान तथा सामाजिक सहयोग अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।
महोत्सवमा दिल्ली सरकार, दिल्ली पर्यटन, पतञ्जलि योगपीठ हरिद्वार, विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्था, प्रायोजक, सञ्चारमाध्यम, कलाकार तथा स्वयंसेवकको सहयोग रहेको थियो। आयोजकका अनुसार महोत्सवले संस्कृति संरक्षण, योगदानको सम्मान, नारीशक्तिको गौरव तथा विपद् प्रभावितप्रति मानवीय सहयोगको सन्देश दिएको छ।







प्रतिक्रिया