सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ‘आ बाट आमा’, ‘नरसिमा’, ‘पार्वती’, ‘आउटल’ हुँदै प्रदर्शनको पर्खाइमा रहेको फिल्म ‘आ बाट आमा २’ सम्म आइपुग्दा सम्पादक साहिल खानले करिब २० वटा फिचर फिल्मको सम्पादन गरिसकेका छन् । ४५० भन्दा बढी टिजर तथा ट्रेलर सम्पादन गरिसकेका खानले फिल्मको सम्पादन र टिजर, ट्रेलर निर्माणलाई फरक कलात्मक विधिका रूपमा लिएका छन् ।

पूर्ण फिल्मको सम्पादनमा लामो समय, धैर्य र टिमसँगको समन्वय आवश्यक पर्ने खान बताउँछन्। उनका अनुसार फिल्म सम्पादनका क्रममा स्क्रिप्टको मर्म, कथाको प्रस्तुति, निर्देशकको दृष्टिकोण र सम्पादकको दृष्टिकोणबीच निरन्तर समन्वय आवश्यक हुन्छ।

‘फिल्म सम्पादन गर्न लामो समय लाग्छ। स्क्रिप्टको मर्म समात्नुपर्छ, निर्देशकको भिजनसँग तालमेल मिलाउनुपर्छ र दर्शकलाई दृश्य प्रवाह सहज लाग्ने गरी पेसिङ मिलाउनुपर्छ। हरेक दृश्य, भावना र कथाको गतिबारे निर्देशक तथा लेखकसँग गहन छलफल गरेर मात्र अगाडि बढ्नुपर्ने भएकाले फिल्म सम्पादन अनुशासित, जिम्मेवार र जटिल विधा हो,’ साहिलले भने।

उनका अनुसार टिजर तथा ट्रेलर सम्पादनमा भने सम्पादकले आफ्नो सिर्जनशीलतालाई तुलनात्मक रूपमा स्वतन्त्र ढंगले प्रयोग गर्न पाउँछन्। निर्देशकको दृष्टिकोण र कथाको पृष्ठभूमि महत्त्वपूर्ण भए पनि सीमित समयभित्र कथाका प्रभावशाली दृश्य छनोट गरी दर्शकको ध्यान तान्ने काममा सम्पादकको सिर्जनशीलता बढी हाबी हुने उनको भनाइ छ।

‘टिजर–ट्रेलर काट्दा आफ्नो व्यक्तिगत क्रिएटिभिटी प्रयोग गर्न पाइन्छ। सीमित समयभित्र फिल्मका उत्कृष्ट दृश्य छानेर दर्शकको ध्यान तान्ने र कौतुहलता जगाउने गरी दृश्य भाषा निर्माण गर्न पाइने भएकाले यसको सिर्जनात्मक प्रक्रिया निकै रोमाञ्चक हुन्छ,’ उनले भने।

साहिलले यसअघि ‘आ बाट आमा’ को पनि सम्पादन गरेका थिए । उक्त फिल्मले बक्स अफिसमा १३ करोडभन्दा बढीको व्यापार गरेको दाबी गरिएको छ। अहिले उनी ‘आ बाट आमा २’ को अन्तिम सम्पादनमा व्यस्त छन् । फिल्मको टिजर तथा पहिलो गीत ‘अचेल किन कान्छी’ ले युट्युबमा ५० लाखभन्दा बढी भ्युज पाइसकेको निर्माण टिमले जनाएको छ।

टिजरमा आफ्नो सिर्जनात्मक प्रयोगमार्फत दर्शकको ध्यान तान्न सफल साहिलले फिल्मको सम्पादनमा पनि स्क्रिप्ट, भावना र दृश्य प्रवाहबीच सन्तुलन कायम गरिएको बताएका छन्।

चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा २’ मा पल शाह र मलिका महत मुख्य भूमिकामा छन्। फिल्म आगामी असोज ३० गते बडादशैँको अवसर पारेर देशभर प्रदर्शनमा आउने तयारीमा छ। साहिलको दृश्य संयोजनले फिल्मलाई प्राविधिक तथा भावनात्मक रूपमा थप प्रभावकारी बनाउने निर्माण टिमको विश्वास छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com