सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मल्टिस्टारर फिल्म ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पहिलो पोस्टरमार्फत पाँच पाण्डवको परिचय गराएको निर्माण पक्षले दोस्रो पोस्टरमार्फत द्रोपदीको चरित्र सार्वजनिक गरेको हो ।

फिल्ममा द्रोपदीको भूमिकामा इभा गिरी देखिएकी छन् । रातो पोसाक र हल्का गहनामा सजिएकी इभाको लुक्सले पोस्टरमा दर्शकको ध्यान खिच्ने देखिन्छ । महाभारतकी द्रोपदीको झल्को दिने रातो सोल्जर कट ब्लाउज र रातै सारीमा इभालाई प्रस्तुत गरिएको छ ।

निर्देशक वसन्त निरौलाले इभा गिरीको द्रोपदी अवतार दर्शकले रुचाउने विश्वास व्यक्त गरेका छन् । ‘हामीले इभालाई द्रोपदीको चरित्रमा प्रस्तुत गरेका छौँ। उहाँ युवा पुस्तामाझ लोकप्रिय हुनुहुन्छ। फिल्मको चरित्रका रूपमा पनि उहाँलाई दर्शकले रुचाउनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

फिल्ममा युधिष्ठिरको भूमिकामा हरिवंश आचार्य, भीमको भूमिकामा जितु नेपाल, अर्जुनको भूमिकामा आर्यन सिग्देल, नहकुलको भूमिकामा महेश त्रिपाठी र सहदेवको भूमिकामा सुशील सिटौलालाई प्रस्तुत गरिएको छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा नेपाली फिल्म क्षेत्रका पुराना पुस्ताका दिग्गजदेखि नयाँ पुस्ताका चर्चित कलाकारसम्मको अभिनय छ। हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला पाँच पाण्डवको भूमिकामा छन्। दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि फिल्ममा महत्त्वपूर्ण भूमिका रहेको छ।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मकी निर्मात्री काली रानी श्रेष्ठ हुन्। ‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। पौडेलले फिल्मलाई ‘सोसल ड्रामा’का रूपमा परिभाषित गरेका छन्। उनका अनुसार फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।

फिल्मलाई श्याम तामाङले छायांकन गरेका छन् भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ। फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन्। गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन्।

फिल्मको रङ्ग सम्पादन, संगीत अर्जुन पोखरेल, साउन्ड डिजाइन उत्तम न्यौपाने, ब्याकग्राउन्ड म्युजिक (बीजीएम) सुजिल कर्माचार्य र भीएफएक्स पुकार धिमालले गरेका छन्। रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा छन्। ‘पाँच पाण्डव’लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com