सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को असोज २३ गते (अक्टोबर ९) देखि नेपाल र भुटानमा हुने भनिएको प्रदर्शन स्थगित गरिएको छ । निर्माण टिमले फिल्मलाई विश्वव्यापी रूपमा प्रदर्शन गर्ने तयारी थालेसँगै तत्कालका लागि रिलिज स्थगित गर्ने निर्णय गरेको हो ।
प्रदर्शनको पूर्वसन्ध्यामा आयोजित ग्रान्ड प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएपछि निर्माण टिमले नेपाल र भुटानमा मात्र सीमित नराखी विश्वका विभिन्न देशमा प्रदर्शन गर्ने निर्णय गरेको जनाएको छ ।
अब फिल्मलाई नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने तयारी भइरहेको छ । यसका लागि आवश्यक प्रक्रिया तथा व्यवस्थापन पूरा गरेपछि नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।
फिल्मको प्रदर्शन स्थगित गर्नुपरेकोमा निर्माण टिमले दर्शकसँग क्षमायाचना गरेको छ। साथै, फिल्मप्रति दर्शकले देखाएको माया, उत्साह र विश्वासका लागि आभार व्यक्त गरेको छ।
‘टनेल २६’को निर्माणमा डोर्जिस प्रोडक्सन, रेल्टिक पिक्चर्स र रोलिङ इमेज पिक्चर्सलगायत संस्थाको सहकार्य रहेको छ। डोर्जिस प्रोडक्सनका तर्फबाट दोर्जी वाङ्चुक, रेल्टिक पिक्चर्सबाट प्रशान्त कुमार गुप्ता र कृष्ण गुप्ता तथा रोलिङ इमेज पिक्चर्सबाट डीडी किन्ले निर्माणमा जोडिएका छन्। फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक तथा क्रिएटिभ प्रोड्युसर प्रदीप खड्का हुन्। निर्माणमा सिजी ग्रुपका निर्वाण चौधरी पनि जोडिएका छन्।
फिल्मको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका छन्। फिल्ममा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायत कलाकारको अभिनय छ।
फिल्मको छायांकन दीर्घ गुरुङ र सङ्गे टी. तेन्जिङले गरेका छन् भने एक्सन निर्देशन राजु तामाङको रहेको छ। निर्माण डिजाइन कृष्ण शर्माले गरेका छन्। पेमा लामोले निर्माण व्यवस्थापन तथा ब्लु छेरिङ दोर्जीले मेकअप र कस्ट्युमको जिम्मेवारी सम्हालेका छन्।
फिल्ममा टेरड्साक जानपानको संगीत तथा करण थामावोङको ध्वनि संयोजन रहेको छ। निर्माण तथा व्यवस्थापनमा लिभेन्ट्स स्टुडियो र सन्तोष कुमार कार्की पनि जोडिएका छन्।







प्रतिक्रिया