सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कलाकार नारायण त्रिपाठीको कमब्याक फिल्म ‘चमेलीको पोई’ बक्स अफिसमा कमजोर देखिएको छ । फिल्मले प्रदर्शनको पहिलो साता ५ लाख ५० हजार रुपैयाँ मात्रै ग्रस कमाइ गरेको छ ।
चलचित्र विकास बोर्डले सोमबार असोज २५ गते आइतबार राति ११ः५९ बजेसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको हो । बोर्डको रिपोर्टअनुसार ‘चमेलीको पोई’को पहिलो सातामा १ हजार ७४८ टिकट बिक्री भएका छन् ।
एभरेस्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म गत असोज १६ गते शुक्रबारदेखि प्रदर्शनमा आएको थियो। फिल्ममा नारायण त्रिपाठीसँगै सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राईलगायत कलाकारको अभिनय छ।
‘चमेलीको पोई’सँगै प्रदर्शनमा आएको फिल्म ‘चंगुल’को व्यापार भने झन् कमजोर देखिएको छ। फिल्मले पहिलो साता १ लाख ३८ हजार ३०० रुपैयाँ कमाएको छ। यस अवधिमा फिल्मका ४२५ टिकट मात्रै बिक्री भएका छन्।
राम गौतमको निर्देशनमा बनेको ‘चंगुल’मा रवि कार्की, लय सङ्ग्रौला, लक्ष्मीनाथ तिमल्सिनालगायत कलाकारको अभिनय छ। पहिलो साताको बक्स अफिस विवरणले दुवै फिल्मको प्रदर्शन व्यावसायिक रूपमा निराशाजनक देखिएको संकेत गरेको छ।







प्रतिक्रिया