सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता अजय देवगनको फिल्म ‘दृश्यम ३’ उनको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ । प्रदर्शनको १० दिनमै भारतमा ३०९ करोड ५० लाख भारु नेट कमाइ गर्दै फिल्मले अजयका यसअघिका सफल फिल्मको रेकर्ड तोडेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले प्रदर्शनको दसौँ दिनसम्म भारतमा ३०९.५० करोड भारु नेट कमाएको छ। यससँगै फिल्मले अजयका ‘तान्हाजी: द अनसङ वारियर’ र ‘दृश्यम २’ को कुल कमाइलाई उछिनेको छ।

सन् २०२० मा प्रदर्शन भएको ‘तान्हाजी: द अनसङ वारियर’ले भारतमा २७९.५९ करोड भारु नेट कमाएको थियो। यो फिल्म यसअघि अजयको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म थियो। तर ‘दृश्यम ३’ले प्रदर्शनको नवौँ दिनमै उक्त रेकर्ड तोडेको हो।

त्यस्तै, सन् २०२२ मा प्रदर्शन भएको ‘दृश्यम २’ले भारतमा २३९.६७ करोड भारु नेट कमाइ गरेको थियो। ‘दृश्यम ३’ले आठ दिनमै दोस्रो भागको कुल कमाइलाई पार गरेको समाचारमा उल्लेख छ।

‘दृश्यम ३’ले प्रदर्शनको पहिलो दिनदेखि नै राम्रो व्यापार गरेको थियो। फिल्मले पहिलो दिन भारतमा ६६.७५ करोड भारु नेट कमाइ गरेको थियो। यो अजयको करिअरकै सबैभन्दा ठूलो ओपनिङ हो। हिन्दुस्तान टाइम्सका अनुसार हिन्दी फिल्मको इतिहासमा समेत यो तेस्रो ठूलो ओपनिङ हो।

फिल्मले दोस्रो दिन ५३.५० करोड र तेस्रो दिन ६१ करोड भारु कमाएको थियो। त्यसपछि साताको बीचमा कमाइ केही घटे पनि दोस्रो सप्ताहन्तमा व्यापार फेरि बढेको थियो। फिल्मले पहिलो सातामा मात्रै २४५.५० करोड भारु नेट कमाएको थियो।

दोस्रो शनिबार २६.५० करोड भारु कमाएको फिल्मले आइतबार थप २३ करोड भारु कमाउँदै कुल नेट कमाइ ३०९.५० करोड भारु पुर्‍याएको हो। उल्लेखित रकम भारतभित्रको नेट कमाइ हो।

अभिषेक पाठकको निर्देशनमा बनेको ‘दृश्यम ३’मा अजय देवगन मुख्य भूमिकामा छन्। फिल्ममा तब्बु, श्रिया सरन, रजत कपुर, जयदीप अहलावत, प्रकाश राज, इशिता दत्ता, मृणाल जाधव र कमलेश सावन्तलगायत कलाकारको अभिनय छ। सन् २०१५ मा सुरु भएको हिन्दी ‘दृश्यम’ शृंखलाको यो तेस्रो तथा अन्तिम भाग हो। ‘दृश्यम ३’ नेपालका सिनेमा हलमा समेत प्रदर्शनरत छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com