सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । बडादसैँको अवसर पारेर देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा २’ले देशभरका मल्टिप्लेक्समा २ सय बढी शो पाएको छ । विशेषगरी काठमाडौं उपत्यकाका प्रमुख मल्टिप्लेक्स बिग मुभिज, एफक्युब सिनेमाज, वान सिनेमाज, सिभिल मल तथा नेपालगन्जको सिने रोयललगायत हलमा फिल्मले उल्लेख्य शो पाएको छ।
उपत्यकाबाहिर पोखरा, बुटवल, नारायणगढ, नेपालगन्ज र धरानलगायत प्रमुख सहरमा पनि अग्रिम टिकट बुकिङ उत्साहजनक रहेको निर्माण पक्षको दाबी छ। सडक कन्सर्ट तथा प्रचारप्रसारका क्रममा मोफसलमा देखिएको दर्शकको उपस्थितिले हलमा समेत सकारात्मक प्रभाव पारेको हल सञ्चालकहरूको भनाइ छ।
फिल्मको पहिलो भागले प्राप्त गरेको व्यावसायिक सफलता, हालै सार्वजनिक पाँच मिनेट लामो भावनात्मक ट्रेलर तथा युट्युबमा करोडौँ भ्युज बटुलेका गीतले यसको प्रचारमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। सेन्सर बोर्डबाट ‘पीजी’ प्रमाणपत्र प्राप्त गरेको फिल्म दसैँको बिदामा परिवारसहित हेर्न दर्शक उत्साहित रहेको निर्माण पक्षको विश्वास छ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा विपना थापा, पल शाह, मलिका महत, स्वर्गीय प्रदीप रावत, साइग्रेस पोखरेल र नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ।
पारिवारिक सम्बन्ध, आमा र सन्तानबीचको भावनात्मक सम्बन्ध तथा प्रेमलाई मुख्य विषय बनाइएको ‘आ बाट आमा २’ले प्रदर्शनको पहिलो दिन कस्तो व्यापार गर्छ भन्ने चासो बढेको छ। अग्रिम बुकिङको प्रारम्भिक संकेतले फिल्मले राम्रो सुरुआत गर्न सक्ने अपेक्षा गरिएको छ। यद्यपि, वास्तविक व्यावसायिक प्रदर्शन भने दर्शकको उपस्थितिपछि स्पष्ट हुनेछ।







प्रतिक्रिया