सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको तीन दिनमै पाँच करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ । निर्माण टिमका अनुसार फिल्मले तीन दिनमा ५ करोड २४ लाख रुपैयाँ ग्रस कमाइ गरेको हो ।

निर्माण टिमले सोमबार फिल्मको व्यापारिक विवरण सार्वजनिक गरेको हो। यसअघि नै प्रदर्शनको दुई दिनमै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई ‘सुपरहिट’ घोषणा गरिसकेको थियो।

‘कबड्डी’ शृंखलाको पाँचौँ फिल्म भएकाले यसको अग्रिम बुकिङदेखि नै दर्शकमाझ व्यापक क्रेज देखिएको थियो। दसैँको अवसरमा तीन नेपाली फिल्म प्रदर्शनमा रहे पनि ‘कबड्डी ५’ले देशभर करिब २४० शो पाएको थियो। प्रदर्शनको पहिलो दिन शुक्रबारदेखि शनिबार र आइतबारसम्म फिल्मका अधिकांश शो हाउसफुल भएका थिए। सोमबार पनि फिल्मले दर्शकको उत्साहजनक साथ पाइरहेको निर्माण टिमले जनाएको छ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राईसँगै मिरुना मगर, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ र माओत्से गुरुङलगायत कलाकारको अभिनय छ। बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com