सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आगामी मङ्सिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘जलाकी’को ट्रेलरले दर्शकमाझ उत्साह बढाएको छ। ट्रेलर सार्वजनिक भएसँगै फिल्मले सामाजिक सञ्जाल र युट्युबमा दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्म युट्युबको मुभिज ट्रेन्डिङ सूचीको छैटौँ स्थानमा समेत पर्न सफल भएको छ।

ट्रेलर हेरेपछि अधिकांश दर्शकले निर्देशक अशोक थापा मगरको अघिल्लो सुपरहिट फिल्म ‘खुस्मा’को झल्को पाएको प्रतिक्रिया दिएका छन्। ‘खुस्मा’मा जस्तै यस फिल्ममा पनि मगर समुदायको मौलिक संस्कृति, ग्रामीण परिवेश र भावनात्मक प्रेमकथाको समिश्रण देखिएकाले दर्शकले यसलाई यस वर्षको प्रतीक्षित प्रेमकथामा आधारित फिल्मका रूपमा लिएका छन्।

फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देनको जोडीलाई दर्शकले रुचाएका छन्। ट्रेलरमा देखाइएको उनीहरूबीचको कलेज रोमान्स र केमेस्ट्रीको प्रशंसा भइरहेको छ। यसै फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी सहारा हाङमा लिम्बुको अभिनयले पनि दर्शकको ध्यान खिचेको छ। पहिलो फिल्म भए पनि ट्रेलरमा देखिएको उनको स्वाभाविक अभिनय र पर्दामा देखिने उपस्थितिको चर्चा भइरहेको छ।

पोखरा, म्याग्दी र रोल्पाका मनमोहक दृश्य समेटिएको ट्रेलरमा सोनम र उपासनाबीचको कलेज जीवन, कक्षाकोठा र पुस्तकालयका प्रेमिल पलसँगै त्यसपछिको विछोड र भावनात्मक संकटलाई प्रस्तुत गरिएको छ।

ट्रेलर सार्वजनिक हुनुअघि फिल्मका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका तीन गीत तथा टिजरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका थिए। फिल्मको शीर्षक ‘जलाकी’ले मगर समुदायमा विशेष आस्था र सम्झनाको प्रतीक मानिने परम्परागत ढुङ्गाको स्तम्भलाई जनाउँछ। निर्देशक मगरले यसलाई फिल्ममा प्रेम र विश्वासको बलियो आधारका रूपमा प्रस्तुत गरेका छन्।

फिल्ममा उपासना, सोनम र सहारासँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायतको अभिनय छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा छन् भने बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com