सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘जेलर २’ हलमा अझै प्रदर्शनरत छ । नेपालका हलमा समेत प्रदर्शन भइरहेको फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेका बेला यसको ओटीटी प्रदर्शन मिति पनि सार्वजनिक भएको छ ।

अमेजन प्राइम भिडिओले नोभेम्बर १२ अर्थात् कात्तिक २६ गतेदेखि फिल्म स्ट्रिमिङ गर्ने घोषणा गरेको हो । भारतसहित विश्वका २४० भन्दा बढी देश तथा क्षेत्रमा फिल्म हेर्न सकिनेछ। फिल्म तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड गरी पाँच भाषामा उपलब्ध हुनेछ ।

नेल्सन दिलीपकुमार निर्देशित फिल्ममा रजनीकान्त पुनः टाइगर मुथुवेल पाण्डियनको भूमिकामा देखिएका छन् । फिल्ममा मोहनलाल, ऋतिक रोशन र विजय सेतुपतिको विशेष भूमिका छ । एसजे सूर्या, शिवराजकुमार, मिथुन चक्रवर्ती, विद्या बालन, राम्या कृष्णन र योगी बाबुलगायत कलाकारको पनि अभिनय छ ।

‘जेलर २’ले तमिल फिल्म इतिहासकै सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड बनाइसकेको छ । फिल्म व्यापारसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने पोर्टल स्याकनिल्कका अनुसार प्रदर्शनको २२औँ दिनसम्म फिल्मले भारतमा ५४५ करोड ३० लाख भारु ग्रस कमाइ गरेको छ। फिल्मको भारतमा नेट कमाइ ४६६ करोड २२ लाख भारु पुगेको छ भने विश्वव्यापी कमाइ ८२० करोड भारु नाघेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com