सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता अनमोल केसी डेब्यु फिल्म ‘होस्टेल’देखि नै नयाँ निर्देशकसँग काम गर्दै आएका छन्। आफ्ना अधिकांश फिल्ममा सहरिया युवाको भूमिकामा देखिएका अनमोल पछिल्लो फिल्म ‘जेरी अन टप’सम्म आइपुग्दा पनि प्रेमी युवक र कलेज विद्यार्थीको चरित्रमा प्रस्तुत भए। तर, आगामी फिल्म ‘बाटुलो जून’मा भने उनी गाउँले शिक्षकको भूमिकामा देखिँदैछन्।
यसपटक अनमोलको स्वरूप र चरित्र दुवै अघिल्ला फिल्मभन्दा फरक छन्। उनी आजभन्दा करिब ४० वर्षअघिको ग्रामीण परिवेशमा शिक्षाको ज्योति फैलाउने युवाको भूमिकामा छन्। गाउँलेलाई पढाउने शिक्षकको चरित्र निर्वाह गरेका अनमोलले यसलाई आफ्नो अभिनय यात्राको नयाँ अनुभवका रूपमा लिएका छन्।
‘मैले सहरिया भूमिका धेरै गरेँ। यसपटक ग्रामीण परिवेशलाई बुझ्न र बाँच्न पाएँ। मेरा लागि यो नयाँ र फरक अनुभव रह्यो,’ अनमोलले भने।
अनमोलले आफ्नो फिल्मी यात्रामा आफ्नै बुवा तथा अभिनेता भुवन केसीको निर्देशनमा दुई फिल्ममा मात्रै काम गरेका छन्। नयाँ सोच भएका निर्देशकका फिल्ममा काम गर्दै आएका अनमोलले भने भुवनजत्तिको मेहनती निर्देशक अरू नपाएको बताएका छन्।
‘मैले बुवाको निर्देशनमा किन दुई फिल्ममा मात्रै काम गरेँ भनेर पछुतो लाग्छ। किनकि यो उमेरमा उहाँले देखाउनुभएको समर्पण साँच्चै तारिफयोग्य छ,’ अनमोलले भने।
‘बाटुलो जून’मा अनमोलको नयाँ अवतार र चरित्रलाई सुहाउँदो अभिनय देख्न सकिने निर्माण पक्षको विश्वास छ। भुवन केसीको निर्देशनमा बनेको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी र संगी अधिकारीलगायत कलाकारको पनि अभिनय छ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन्।






प्रतिक्रिया