सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली कला, साहित्य, गीतसंगीत, पत्रकारिता, फिल्म तथा सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका स्रष्टा, साधक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व सम्मानित भएका छन्।
मिलाप मासिकको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा बडादसैँ, तिहार, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदानसँगै ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ सहित विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।
नेपाली कला क्षेत्रका विशिष्ट व्यक्तित्व त्रिदेवी चैतदेवी सिंह, वसुन्धरा भुसाल र भुवन चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा कला, साहित्य, संगीत, पत्रकारिता, फिल्म, सामाजिक सेवा तथा सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो।
कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ प्रदान गरिएको थियो। लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंह र स्वर माधुरी अञ्जना गुरुङले आफ्ना मातापिताको नाममा स्थापना गरेको उक्त पुरस्कार दाहाललाई प्रदान गरिएको हो।
प्रमुख अतिथि त्रय, मिलाप मासिकका सम्पादक एवं कार्यक्रमका सभापति कृष्ण भुसाल, ‘टीका–गोपाल’ फाउन्डेसनकी अध्यक्ष गीता सिंह तथा सल्लाहकार एवं कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलगायतले दाहाललाई पुरस्कार अर्पण गरेका थिए।
नेपाली साहित्यका विभिन्न विधा तथा गीतसंगीतमा योगदान पुर्याउँदै आएका दाहाललाई प्रदान गरिएको पुरस्कारले सिर्जनात्मक साधना र राष्ट्रिय गीतसंगीतको प्रवर्द्धनमा समर्पित व्यक्तित्वको योगदानलाई सम्मान गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
समारोहमा मिलाप मासिकको आवरणमा समेटिएका विभिन्न क्षेत्रका व्यक्तित्वलाई पनि विशेष सम्मान गरिएको थियो। ‘मिलाप कभर सम्मान’ प्राप्त गर्नेमा उर्मिला श्रेष्ठ, विक्रमभक्त जोशी, राजु सिंह, खेमनाथ दाहाल, अम्बिका गुरुङ, उत्तम केसी, वसन्त वित्यासी थापा, देवेन्द्र बजगाईं, सुमिना श्रेष्ठ, निशिता जोशी, रश्मी पाण्डे, राज टाइगर, सुनिता कुँवर, मनोज परियार र सन्दीप भुजेल रहेका थिए।
त्यसैगरी, कला, साहित्य, पत्रकारिता, सामाजिक सेवा तथा विभिन्न क्षेत्रमा सक्रिय रही उल्लेखनीय योगदान पुर्याउने डा. मोहनलाल घिसिङ, सीताराम पोखरेल, आरपी पन्त, गोपालकाजी कायस्थ, विजयरत्न तुलाधर, विनोद देवकोटा, सरोज बास्तोला, मञ्जु लावती, शशी लुमुम्बू, राधाकुमारी दाहाल, योगराज पाण्डे ‘रञ्जन’, अशोक बराल, शान्ति गुरुङ, वसन्ती सदा शंकर, विन्दिरा श्रेष्ठ, स्वस्तिका पन्थी र सुमन सापकोटालगायतलाई ‘मिलाप सम्मान’ प्रदान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले नेपाली कला, साहित्य र संगीत राष्ट्रिय पहिचान, भाषा, संस्कृति तथा सामाजिक चेतनाका महत्त्वपूर्ण संवाहक भएको उल्लेख गर्दै स्रष्टाको योगदानको उचित कदर हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सिर्जना र साधनामा समर्पित व्यक्तित्वलाई सम्मान गर्ने यस्ता कार्यक्रमले नेपाली सिर्जनात्मक क्षेत्रको गरिमा बढाउनुका साथै नयाँ पुस्तालाई कला, साहित्य र संगीतमा अघि बढ्न प्रेरणा दिने धारणा राखेका थिए।
प्रमुख अतिथि वसुन्धरा भुसालले नेपाली कला क्षेत्रको विकास र संरक्षणमा स्रष्टाहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान गर्ने कार्य प्रशंसनीय भएको बताइन्। उनले यस्ता कार्यक्रमले विभिन्न विधामा सक्रिय प्रतिभालाई एकै ठाउँमा जोड्नुका साथै आपसी सद्भाव र सहकार्यलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन्।
पुरस्कृत व्यक्तित्व दाहालले पुरस्कारका लागि आयोजकप्रति आभार व्यक्त गर्दै साहित्य सिर्जनाप्रतिको आफ्नो रुचि र निरन्तर साधनाका कारण विभिन्न पुरस्कार तथा सम्मान प्राप्त भएको धारणा राखे। उनले आफ्नो मन्तव्यका क्रममा इहलोक र परलोकको प्रसंगसमेत सुनाएका थिए।
त्यस्तै, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, फिल्म विकास बोर्डका सदस्य गणेश सुवेदी तथा ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार’का सल्लाहकार एवं कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उनीहरूले मिलाप मासिकले नेपाली कला, साहित्य र संगीतको प्रवर्द्धन तथा स्रष्टाको सम्मानका लागि गर्दै आएको कार्यको प्रशंसा गरेका थिए।
कार्यक्रममा मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने निर्देशक माधवराज खरेलले कार्यक्रम सञ्चालन गरेका थिए। बालकलाकार काब्य अधिकारीले स्वागत नृत्य प्रस्तुत गरेर समारोहलाई थप आकर्षक बनाएकी थिइन्। सो अवसरमा प्रमुख अतिथिलगायत विशिष्ट व्यक्तित्वलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।
समारोहमा वरिष्ठ साहित्यकार लेखनाथ पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका महासचिव रमेश दाहाल, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’, डब्बु क्षेत्री, निमेश गौतम, साहित्यकार शैलेन्द्र चापागाईं, सविता बेहोसी, वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिय, वरिष्ठ कलाकार लय संग्रौला, नायिका तथा गायिका सारिका घिमिरे, निर्देशक रामशरण कोइराला र नायक श्रीदेव भट्टराईलगायत कला, साहित्य, पत्रकारिता तथा मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति थियो।
कार्यक्रमको समापन गर्दै सभापति एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसालले स्रष्टा र साधकको योगदानको सम्मान गर्नु नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको महत्त्वपूर्ण आधार भएको बताए। उनले १७ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलापले विभिन्न क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्दै एउटै मञ्चमा जोड्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।






प्रतिक्रिया