सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । फिल्म ‘पाँच पाण्डव’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजअन्तर्गत प्रदर्शनमा आएको फिल्मले सन्तोषजनक शो पाएको निर्माण पक्षले जनाएको छ।
निर्माण पक्षले यस वर्षको प्रतीक्षित फिल्मका रूपमा प्रचार गर्दै आएको ‘पाँच पाण्डव’ले बलिउडको ठूलो फिल्म प्रदर्शनमा आएका कारण अपेक्षाकृत कम शो पाएको निर्देशक वसन्त निरौलाको भनाइ छ।
‘हाम्रो फिल्मले जति शो पाएको छ, बलिउडको ठूलो फिल्म आएकाले यसलाई सन्तोषजनक मान्नुपर्छ’, निर्देशक निरौलाले भने, ‘तर हाम्रो फिल्म राम्रो बनेको छ। त्यसैले दोस्रो दिनदेखि नै हलहरूले शो थप्दै जानेमा हामी पूर्ण रूपमा ढुक्क छौँ।’
फिल्मको आइडिया र प्रस्तुतीकरण दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको पनि उनले बताएका छन्। वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्। त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)को पनि अभिनय रहेको छ।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले गत वर्ष फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन्।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। लेखक पौडेलका अनुसार यो फिल्म सामाजिक विषयवस्तुमा आधारित छ। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै फिल्मले समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको उनले बताएका छन्।
फिल्मलाई श्याम तामाङले छायांकन गरेका छन्। सुप्रिम पराजुलीले सम्पादन तथा रङ्ग संयोजन, सम्राट बस्नेतले द्वन्द्व निर्देशन, गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन्।
त्यस्तै, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक (बीजीएम), पुकार धिमालको भिएफएक्स, रोहित राज गौतमको एचओपी तथा विष्णु बुढाथोकीको प्रोडक्सन व्यवस्थापन रहेको छ।
फिल्ममा दर्शकले डल्बी एटमस साउन्डको अनुभव लिन पाउने निर्माण पक्षले जनाएको छ। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गरेको छ।






प्रतिक्रिया