सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत कात्तिक ६ गतेदेखि प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलु बक्सअफिसमा १२ करोड रुपैयाँको आँकडा पार गरेको छ । दसैँमा प्रदर्शनमा आएका अन्य फिल्मको व्यापार कमजोर देखिएका बेला टिकाको भोलिपल्टदेखि प्रदर्शनमा आएको यस फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मले कात्तिक २२ गतेसम्म १२ करोड ३९ लाख ९२ हजार २४५ रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कमाइ फिल्मका ४ लाख ५ हजार ८८४ वटा टिकट बिक्रीबाट भएको हो ।

प्रदर्शनको सुरुवातदेखि नै दर्शकको उल्लेख्य साथ पाएको फिल्मले बक्सअफिसमा आफ्नो पकड कायम राखेको छ । ‘कबड्डी’का अघिल्ला चारवटै शृङ्खला व्यावसायिक रूपमा सफल भएका थिए । पाँचौँ शृङ्खलाले पनि दर्शकको उत्साहजनक साथ पाउँदै अघिल्ला फिल्मको सफलतालाई निरन्तरता दिएको छ ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com