सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायण भाग १’ प्रदर्शनरत छ । फिल्ममा रणवीर कपूरले भगवान् राम, साई पल्लवीले सीता, यशले रावण र रवि दुबेले लक्ष्मणको भूमिका निर्वाह गरेका छन् ।
फिल्म विश्वव्यापी रूपमा प्रदर्शनमा आएसँगै कलाकारहरू यसको प्रचारप्रसारमा व्यस्त छन् । यसै क्रममा बीबीसी एसियन न्युज नेटवर्कसँगको संयुक्त भिडियो अन्तर्वार्तामा अभिनेता रणवीर कपूरले आफूभित्र अझै पनि फिल्म निर्देशक बन्ने सपना रहेको खुलासा गरेका छन् ।
फिल्म निर्देशनप्रति आफू किन आकर्षित भएको भन्ने प्रश्नमा रणवीरले निर्देशकहरू सधैँ सिर्जनात्मक सोचमा व्यस्त रहने तर कलाकारहरूले आफ्नो दृश्य दिएपछि अर्को दृश्यको प्रतीक्षा गरेर बस्ने बताए ।
‘मैले केही महिनाअघि मात्रै एउटा पटकथा लेख्न सुरु गरेको हुँ । तर सिर्जना गर्नु निकै कठिन रहेछ । लेखक र सिर्जनाकर्ताहरूप्रति मेरो सम्मान अझै बढेको छ । आखिर उनीहरूले कसरी यस्तो सिर्जना गर्छन् होला भन्ने लाग्छ । मलाई लाग्छ, सङ्गीतकारपछि सबैभन्दा बढी सिर्जनात्मक आनन्द महसुस गर्ने व्यक्ति निर्देशक नै हो’, उनले भने ।
उनले कलाकारका रूपमा प्राप्त हुने आनन्द केही हदसम्म सतही हुने पनि बताए । ‘कलाकारका रूपमा प्राप्त हुने आनन्द केही हदसम्म सतही हुन्छ । तर निर्देशकले फिल्म बनाउँदा, त्यो राम्रो होस् वा नराम्रो, आफ्नो कथा भन्न र धेरै मानिसलाई एकै ठाउँमा ल्याएर प्रस्तुत गर्ने अवसर पाउनु निकै सुन्दर अनुभव हो । म पनि यस्तो अनुभव गर्न पाउँछु भन्ने आशा राख्छु’, उनले भने ।
आफ्नो पहिलो फिल्मका लागि कुनै निश्चित विधा रोज्नुभएको छ भन्ने प्रश्नमा रणवीरले अहिलेसम्म कुनै विशेष विधा तय नगरेको बताए । तर आफूलाई जीवनसँग नजिक रहेका कथाहरू मन पर्ने उनको भनाइ छ ।
‘म कुनै निश्चित विधा भन्न सक्दिनँ । तर मेरा मनपर्ने फिल्महरू ‘लाइफ इज ब्युटिफुल’, ‘इट्स अ वन्डरफुल लाइफ’ र राजकुमार हिरानीका फिल्महरू हुन् । सम्भवतः म पनि यस्तै किसिमको मन छुने, सकारात्मक र पारिवारिक कथा बनाउन चाहन्छु’, उनले भने । उनले सन् २०३० पछि अभिनयलाई विश्राम दिएर निर्देशकका रुपमा सक्रिय हुन् चाहेको बताएका छन् । रणवीरले अभिनेता बन्नु अगाडि धेरै फिल्ममा मुख्य सहायक निर्देशक बनेर काम गरिसकेका छन् ।






प्रतिक्रिया