सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । लोकप्रिय हिन्दी वेब सिरिज ‘पञ्चायत’को बहुप्रतीक्षित पाँचौँ सिजन आगामी डिसेम्बर ३ देखि प्रसारण हुने भएको छ । डिजिटल प्लेटफर्म प्राइम भिडियोले बुधबार सिरिजको आधिकारिक प्रदर्शन मिति सार्वजनिक गरेको हो। ‘द भाइरल फिभर’ (टीभीएफ) द्वारा निर्मित नयाँ सिजन भारतसहित विश्वभरका २४० भन्दा बढी देश तथा क्षेत्रमा एकसाथ प्रसारण हुनेछ।

यस सिजनमा फुलेरा गाउँको राजनीतिक समीकरणमा ठूलो फेरबदल देख्न पाइनेछ । नयाँ ‘प्रधानपति’का रूपमा बनराकस (दुर्गेश कुमार) र क्रान्ति देवी (सुनिता राजवार) सत्तामा पुगेपछि कथामा नयाँ राजनीतिक द्वन्द्व, हास्यव्यङ्ग्य र नाटकीय मोडहरू थपिनेछन् । बनराकसले फुलेरा गाउँलाई नयाँ दिशा दिन सक्छन् वा उनको दाबी चुनावी नौटङ्कीमा मात्रै सीमित हुन्छ भन्ने विषय यस सिजनको मुख्य आकर्षण रहनेछ ।

सिरिजमा ‘सचिवजी’को भूमिकामा जितेन्द्र कुमार पुनः देखिनेछन् । उनीसँगै रघुवीर यादव, नीना गुप्ता, चन्दन रोय, फैजल मलिक, सान्विका र अशोक पाठकलगायत कलाकारले अभिनय गर्नेछन् । यसअघिका चार सिजनबाट दर्शकमाझ लोकप्रिय बनेको ‘पञ्चायत’को पाँचौँ सिजनलाई लिएर दर्शकमा उत्सुकता बढेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com