सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री पूजा शर्मा र अशोक दर्जीको अभिनय रहने फिल्म ‘सेतो कोट’ को छायाङ्कन सुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणबाट फिल्मको छायाङ्कन सुरु गरिएको हो ।
निर्माण टिमले क्यामेराको पूजा गर्दै फिल्मको छायाङ्कन थालेको हो । पूजाको पहिलो सट खिच्दै छायाङ्कन सुरु गरिएको फिल्मको छायाङ्कन काठमाडौं र मकवानपुरमा हुनेछ । मिनु शर्मा प्रोडक्सनको प्रस्तुति तथा शिवम अधिकारीको लेखन एवं निर्देशनमा बन्ने फिल्मको छायाङ्कन पुसको पहिलो सातासम्म सक्ने लक्ष्य राखिएको छ ।
मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ हुन् भने फणीन्द्र तामाङ कार्यकारी निर्माता छन् ।फिल्ममा पूजा शर्मा, नीर शाह, अशोक दर्जी, सुमित्रा दाहाल, पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, सुप्रिया शर्मा, फलित राई, सुरेश थापा मगर, सरिता अधिकारी र शङ्कर श्रेष्ठलगायतको अभिनय रहनेछ ।
फिल्मको छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सम्पादनको जिम्मेवारी बन्दे प्रसादले सम्हाल्नेछन् । फिल्ममा स्टिभ सङ्करको सङ्गीत रहनेछ ।
यसैगरी, फिल्मको हेड अफ प्रोडक्सनमा अरुण रेग्मी, मुख्य सहायक निर्देशकमा नवराज शर्मा, बजार व्यवस्थापनमा भावेश ढकाल, प्रचार सामग्रीमा सञ्जीव खड्की र कला निर्देशनमा डुक्राज रहेका छन् । त्यस्तै, शृङ्गारको जिम्मेवारी स्वस्तिका, भान्सा व्यवस्थापन कुमार शाह र पोसाकको जिम्मेवारी रविले सम्हाल्नेछन् । दीप्त प्रकाश अधिकारी पनि मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् भने विनिशा सेवा सह-निर्देशक हुन् ।






प्रतिक्रिया