सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । पाकिस्तानी गायक आतिफ अस्लम पहिलोपटक इटहरीमा प्रस्तुत हुने भएका छन् । जय मिडिया म्यानेजमेन्टले आगामी पुस ४ गते आयोजना गर्न लागेको ‘इस्टर्न इकोज’ कन्सर्टमा उनले आफ्ना चर्चित पुराना तथा नयाँ गीत सुनाउनेछन् । कन्सर्ट सुनसरीको इटहरी रंगशालामा आयोजना हुनेछ ।

आतिफका ‘वो लम्हे, वो बाते’, ‘पेहेली नजर मे’, ‘तु जाने ना’ र ‘तेरे होने लगा हुँ’ लगायत गीत श्रोता तथा दर्शकमाझ लोकप्रिय छन् । कन्सर्टमा उनले आफ्ना यिनै चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।

आयोजक जयराज रायका अनुसार काठमाडौंमा मात्रै सीमित अन्तर्राष्ट्रियस्तरका कन्सर्ट काठमाडौं बाहिर पनि आयोजना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न इटहरीमा कार्यक्रम गर्न लागिएको हो ।

‘सीमावर्ती भारतीय सहरहरू समेत नजिक रहेकाले कन्सर्टमा भारतबाट मात्रै ८ देखि १० हजार दर्शक आउने हाम्रो अपेक्षा छ,’ रायले भने, ‘कन्सर्टले पूर्वी नेपालको पर्यटन, होटल तथा स्थानीय व्यवसायको प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास लिएका छौँ ।’ आयोजकका अनुसार दर्शकले खल्ती एपमार्फत डिजिटल माध्यमबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com