सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । तपाई फिल्मप्रेमी हुनहुन्छ भने यो विकेन्ड (सप्ताहन्त) तपाईंका लागि विशेष बन्न सक्छ । विभिन्न ओटीटी प्लेटफर्मले दर्शकको रुचिलाई ध्यानमा राख्दै थ्रिलर, सस्पेन्स, साइ-फाई, आध्यात्मिक ड्रामा र रोमान्स विधाका नयाँ फिल्म तथा सिरिज सार्वजनिक गरेका छन् ।
यो साताको ओटीटी रिलिज सूची निकै सन्तुलित र रोचक देखिन्छ । एकातिर सिनेमाघरमा दर्शकको उल्लेख्य साथ पाएका र बक्स अफिसमा कीर्तिमान बनाएका फिल्म डिजिटल प्लेटफर्ममा उपलब्ध भएका छन् ।
दृश्यम ३
सस्पेन्स र थ्रिलरको पर्याय बनिसकेको अजय देवगन अभिनित ‘दृश्यम’ फ्रेन्चाइजको तेस्रो शृङ्खला नोभेम्बर २७ देखि नेटफ्लिक्समा स्ट्रिम भइरहेको छ । विजय सालगाउँकरको दिमाग घुमाउने चतुर्याइँ हेर्न सिनेमाघरमा दर्शकको घुइँचो लागेको थियो । भारतीय बक्स अफिसमा ३०० करोडको क्लबमा प्रवेश गर्दै विश्वव्यापी रूपमा ५०० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको यो फिल्म सिनेमाघरमा छुटाएका दर्शकका लागि घरमै बसेर रोमाञ्चक अनुभव लिने अवसर बनेको छ ।
हनुमान अंश
थोरै लगानीमा पनि बलियो कथावस्तु भए बक्स अफिसमा कस्तो सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण हो ‘हनुमान अंश’ । मात्र २ करोड रुपैयाँको बजेटमा निर्माण भएर पनि भारतमा ३४२.७४ करोड रुपैयाँको नेट कलेक्सन गर्दै यो फिल्म वर्षकै सर्वाधिक नाफामूलक ब्लकबस्टर बनेको छ । नीम करौली बाबाको जीवनबाट प्रेरित यो आध्यात्मिक बायोपिक ड्रामा नोभेम्बर २७ देखि सोनी लिभमा हेर्न सकिन्छ ।
ब्लेड रनर २०९९
हलिउडको कल्ट साइ-फाई फ्रेन्चाइज रुचाउनेहरूका लागि यो विकेन्ड खास छ । सन् १९८२ को ‘ब्लेड रनर’ र सन् २०१७ को ‘ब्लेड रनर २०४९’ को कथालाई अगाडि बढाउँदै आठ एपिसोडको नयाँ सिरिज नोभेम्बर २५ देखि प्राइम भिडियोमा आएको छ । ओस्कार विजेता अभिनेत्री मिशेल यो, हन्टर शेफर र टम बर्कको मुख्य अभिनय रहेको यस सिरिजले दर्शकलाई भविष्यको रहस्यमयी दुनियाँमा लैजानेछ ।
दिल्ली २०२१
कोरोना महामारीको दोस्रो लहरले निम्त्याएको भयावह संकट र अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीको संघर्षलाई पर्दामा उतार्ने सर्भाइभल थ्रिलर ‘दिल्ली २०२१’ नोभेम्बर २५ देखि जी५ मा स्ट्रिम भइरहेको छ । ऋचा चड्ढा, सुमीत व्यास, सोनाली कुलकर्णी र गुलशन ग्रोभरजस्ता कलाकारको अभिनयले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ ।
ढाई चाल
विद्यार्थी राजनीति, युवा महत्त्वाकांक्षा र त्यसमा जोडिएका दाउपेचमा रुचि राख्नेहरूका लागि ‘ढाई चाल’ उपयुक्त विकल्प बन्न सक्छ । लेखक नवीन चौधरीका लोकप्रिय उपन्यास ‘जनता स्टोर’ र ‘ढाई चाल’ मा आधारित यो ड्रामा सिरिज नोभेम्बर २७ देखि जियो हटस्टारमा उपलब्ध छ । सिरिजमा गगन अरोरा र आदिल खान मुख्य भूमिकामा छन् ।
समग्रमा, बक्स अफिसमा करोडौँ कमाएका व्यावसायिक सफल फिल्मदेखि मन छुने संवेदनशील कथासम्मले यो विकेन्ड ओटीटी प्लेटफर्मलाई मनोरञ्जनमय बनाएका छन् । दर्शकले आफ्नो रुचि र मुडअनुसार विधा छानेर घरमै बसेर फिल्म तथा सिरिजको आनन्द लिन सक्नेछन् ।






प्रतिक्रिया